अछाम । नेकपा (एमाले) नेता डा. भीम रावलले कम्युनिष्ट पार्टीले कांग्रेससँँग गरेको चुनावी तालमेलको विरोध गरेका छन् ।
उनले सच्चा कम्युनिस्टले कांग्रेसलाई भोट हाल्न नसक्ने बताएका छन् ।
स्थानीय तहको निर्वाचनसम्बन्धी कार्यक्रमका लागि गृहजिल्ला अछाममा रहेका रावलले आफूलाई कम्युनिस्ट पार्टी भन्ने अनि दक्षिणपन्थी भन्दै आएको कांग्रेससँग कुन आधारमा तालमेल भयो ? भनेर प्रश्न गरे ।
नेता रावलले सत्ता स्वार्थका लागि कांग्रेससँग कार्यगत एकता गर्नु जनतामाथिको धोका भएको जिकिर गरे । उनले भने, ‘सच्चा कम्युनिस्ट पार्टीले कांग्रेसलाई भोट हाल्न सक्दै सक्दैन ।’
नेता रावलले एमालेबाट बनेका उम्मेदवारलाई जिताउने अभियानमा लाग्न आग्रह गर्दै भने, ‘एमालेका उम्मेदवार विजयी भए मात्रै देशमा विकास निमार्णका कार्यले तीब्रता पाउँछ ।’ रावलले एमालेबाट बनेका सबै उम्मेदवारलाई जिताउन आग्रह गरेका छन् ।
अरुबेला चर्चामा आइरहने रावल गएको महाधिवेशनमा केपी शर्मा ओलीसँग अध्यक्षमा पराजित बनेपछि पार्टीमा उनको सकृयता कम देखिएको छ ।