बिहिबार, साउन १४ २०८३

बिहिबार, साउन १४ २०८३

 पुनः संकटकाल लगाउने श्रीलंकाको निर्णयलाई शक्ति राष्ट्रहरूले भने: त्यो प्रत्युत्पादक हुनसक्छ

आइतबार, बैशाख २५ २०७९

कोलम्बो । श्रीलंकामा पुनः संकटकाल लगाइएपछि राष्ट्रपति गोटबाय राजपाक्षको निर्णयको शक्ति राष्ट्रहरूले आलोचना गरेका छन् ।

अमेरिका र युरोपेली संघले सरकारविरुद्ध भइरहेका प्रदर्शनका माझ दोस्रो पटक संकटकाल लगाउने राष्ट्रपतिको कदमको आलोचना गरेका हुन् ।

राजधानी कोलम्बोस्थित अमेरिकी राजदूत जुली चुङले मानिसहरूको आवाज सरकारले सुन्नुपर्ने बताइन् ।

श्रीलङ्कालीहरूले बेहोरिरहेको वास्तविक चुनौतीहरूसँग जुझ्न र देशमा सबैका लागि समृद्धि र अवसर रहने बाटोमा फर्काउन दीर्घकालीन समाधानको आवश्यकता पर्ने उनको भनाइ छ ।

यस्तै युरोपेली सङ्घले सङ्कटकालले श्रीलंकाका अप्ठेराहरू हल गर्न मद्दत नगर्ने भन्दै त्यो प्रत्युत्पादक हुनसक्ने चेतावनी दिएको छ ।

शुक्रबार बसेको मन्त्रिपरिषद्को एउटा विशेष बैठकपछि संकटकाल लगाउने निर्णय गरेको थियो । राष्ट्रपति राजपाक्षको कार्यालयले सार्वजनिक सुरक्षालाई मध्यनजर राख्दै संकटकाल लगाइएको जनाएको छ । 

यसअघि पनि श्रीलङ्काका राष्ट्रपतिले गत अप्रिल २ मा सङ्कटकाल लगाएका थिए। विदेशी मुद्रा सञ्चितमा गम्भीर संकट बेहोरिरहेको श्रीलंकाले खाद्यान्न, इन्धन र औषधि आयात गर्न गम्भीर समस्या भोगिरहेको छ ।
-एजेन्सी