काठमाडौं । यतिबेला पूर्वप्रधानमन्त्री एवं नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेपाली कांग्रेस केन्द्रीय सदस्य एवं प्रधानमन्त्री शेरबहादुर देउवाकी पत्नि आरजु राणा देउवाको पछिल्लो अभिव्यक्तिलाई लिएर चौतर्फी आलोचना भएको छ ।
सामाजिक सञ्जाल फेसबुक र ट्वीटर उनीहरुको अभिव्यक्तिको आलोचनाले भरिभराउ छ । सामान्यदेखि उच्च ओहोदाका व्यक्तिहरुले उनीहरुको भनाइको विरोध गरेका छन् । स्थानीय तहको निर्वाचन सन्मुखमा उनीहरुको यो बोलीले मतदातामा कस्तो असर गर्ला ? समग्र जनताले उनीहरुको धम्की र आश्वासनलाई कसरी कुन रुपमा लेलान् ।
बिहीबार ‘प्रचण्ड’ ले चितवनको पाँच दलीय संयुक्त सभालाई सम्बोधनमा भरतपुरमा आफ्नी छोरी रेणुको टिमलाई नजिताए देश दुर्घटनामा जाने बताएका थिए । त्यत्तिमा मात्र उनी सीमित भएनन् कांग्रेस सभापति, वरिष्ठ नेता साथमा राखेर आक्रोशित हुँदै उनले चितवन कांग्रेस कार्यकर्तालाई बेलैमा बुद्धि पुर्याएर हँसिया हतौडामा मत नदिए जे पनि हुनसक्ने बताए ।
‘प्रचण्ड’ ले रेनु र चित्रसेनको टिम विजयी भए आफू निकै उत्साहित हुने र यो गठबन्धनलाई १०, १५, २० वर्ष लैजाने बताएका थिए । तर, कांग्रेस मतदातातर्फ लक्षित गर्दै उनको भनाइ थियो, ‘हँसिया हथौडामा भोट हाल्दिनँ भन्नुभयो भने, मलाई आशंकाले हेरेर गठबन्धन कमजोर पार्न खोज्नुभयो भने म त अब दायाँबायाँ गर्दिनँ, तर देश दुर्घटनामा पर्ने खतरा छ, त्यसको जवाफ अहिले यो गठबन्धनको विरोधमा भाषण गर्नेहरूले दिनुपर्नेछ ।’
मत दिने नदिने मतदाताको रोजाइको विषय हो, नेताहरूले मतदातालाई धम्क्याउन मिल्छ ? उनीहरुलाई आचारसंहिता लाग्दैन ?
यसैगरी बिहीबार नै डडेलधुरमा आयोजित कार्यक्रममा बोल्दै प्रधानमन्त्री देउवापत्नी आरजुले कांग्रेसले हारेका नगरपालिकामा पैसा नपठाउने अभिव्यक्ति दिइन् । ‘जहाँ हाम्रो मेयर नै हुन्न त्यहाँ हामी किन पैसा पठाउँछौं ? कसले पैसा पठाउने ?’ डडेलधुरा सदरमुकामको अमरगढी नगरपालिकामा आयोजित सभामा राणाले गरेको भाषणको भिडियो क्लिप सामाजिक सञ्जालमा भाइरल बनेको छ ।
उनले अर्को कार्यक्रममा निर्वाचन पछि एउटा वडाका ५–६ जना युवालाई फ्रि टिकट र फ्रि भिजामा मलेसिया पठाउने उर्दीसमेत जारी गरिन् ।
यी दुई नेताको अभिव्यक्तिलाई लिएर यति बेला सामाजिक सञ्जाल भरिभराउ छ । शतप्रतिशतले उनीहरुको अभिव्यक्तिको विरोध गरेका छन् ।
पत्रकार तथा कलकार रामप्रसाद खनालले प्रचण्डको उक्त अभिव्यक्तिको खुव आलोचना गरेका छन् । उनी लेख्छन् ।
…बरु नारायणी तिर हाम फाल्दा आत्माले शान्ति पाउला
कैयौँ निर्दोष काँग्रेसीहरू लाई छानी छानी मार्यो, लुट्यो, कुट्यो, अपहरण गर्यो, छानी छानी मार्यो एमालेहरू, घर बाट थुती थुती मार्यो अरू दलका मान्छेहरू, सर्व साधारण जनता र यसको आतङ्कको विरुद्ध बोल्नेहरुलाई । २०५२ साल देखी २०६२ सम्म जङ्गलमा बसेर आतङ्क मच्चायो, २०६२ यता सहर पसेर आतङ्क मच्चाइरहेको छ यो मान्छे जस्तै जस्तै देखिने प्राणी । यसलाई जिताउनै पर्ने, यसकी छोरीलाई जिताउनै पर्ने, यसकी बुहारी, भाइ, नाल नाता सबैलाई जिताइदिनै पर्ने, यसले जे जे भन्छ त्यही मानिदिनुपर्ने, सम्झौता गरिरहनु पर्ने यससँग । सत्र हजारको रगतको आहालमा डुबेको यो प्राणीले आज मुलुकको प्रधानमन्त्री, तिनै पीडित काँग्रेसीहरूको पार्टी सभापति शेर बहादुर देउवाकै छेउमा उभिएर भरतपुर बासी, चितवनवासीको हुर्मत लिनु सम्म लिएछ । धम्क्याउनु सम्म धम्क्याएछ । साक्षी बसेछन् माकुनेहरु । भरतपुर बासी, चितवन बासी न्याय चाहने जनहरू, के यसको धाक धम्की सधैँ सहिरहने हो ?? के यसलाई, यसका खलकलाई जिताएर लुटाइरहने हो देश, लुटीईरहने हो आफू ?? होइन भने यस पटक सबक सिकाउनुस् । कति सहने यसको आतङ्क र धम्की ?? कहिले ओली सँग मित लगाएर जनता धम्क्याउँछ, कहिले शेर बहादुरसँग मित लगाएर धम्क्याउँछ । यता उता कुन बेला को सँग जोडिन्छ भर नै छैन । के यो राजनीतिक वेश्यावृत्ति होइन र ?? छाती मा हात राखेर सोच्नुस्, आफैले आफै सँग प्रश्न गर्नुस् – प्रचण्ड नामको यो अपराधहरू र आतङ्कहरूको नाइके लाई कहिले सम्म राज्यका प्रहरी र सेनाको घेरा भित्र जनताको खुन र पसिनाको कर बाट पालिरहने, साँढे हुन दिइरहने ?? सुन्नुस् त यसको आजको धम्की १ अनि खोल्नुस् तपाईँको मुख, बोल्नुस् न्यायका पक्षमा । लेख्नुस् आफुलाई लागेका कुरा । खोली दिनुस् पट्टी बाँधेका आँखाहरू । नत्र हामी र आर्यघाटको सलमा जल्न तयार लासमा के फरक भो र ? होइन र ?? प्रचन्डको यो धम्की सुन्नुस भरतपुरबासी, चितवनबासी ! यस्तो धाक धम्की सुनेर पनि यसकै छोरीलाई भोट हाल्नुहुन्छ भने, यसकै शती जानुहुन्छ भने त्यो भन्दा नारायणी तिर हाम फाल्दा बरु आत्माले शान्ति पाउला । माफ गर्नुहोला मित्रहरु, आज फेरी यसको धम्की सुने पछि यसलाई तिमी सम्म लेख्न पनि मेरा हात र मेरो कलमले मानेनन, असभ्य भयो नभनिदिनुहोला । यो मेरो स्वतन्त्र अभिब्यक्ती हो । कसैसँग कुनै लेनादेना छैन । सत्य र न्यायका लागि बोल्न, लेख्न छाडिन्न दुई थोपा रगत रहे सम्म । सत्य तितो हुन्छ है ।
फेरी भन्छु, जोड दिएरै भन्छु – देशका राष्ट्रिय समस्या हुन प्रचन्ड, यिनी रहँदासम्म देशले निकाश पाउने छैन । वर्षौँ देखी लेख्दै, बोल्दै, भन्दै आएको छु-मान्छे बिग्रेर प्रचण्ड हुन सक्छन् तर प्रचण्ड सप्रेर कहिल्यै मान्छे हुन सक्दैनन् । आजको धम्की सुन्नु भो भने यसको पुनर्पुस्टि भएको छ आज ।
खनालले प्रचण्डको अभिव्यक्तिलाई लिएर भिडियो सन्देश पनि प्रस्तुत गरेका छन् ।

वरिष्ठ पत्रकार तथा विश्लेषक प्रा.पुरुषोत्तम दाहाल उनीहरुलगायत केही नेताको अभिव्यक्तिका बारेमा लेख्छन्…
नेपालीमा यौटा उखान छ र गाउँमा अग्रजहरुबाट सुन्ने गरिन्थ्यो :
थुतुनु र मुतुनु जोगाउनु। यी दुवै अङ्ग जोगाउन नसक्नेहरुको भर नगर्नु ।
राजनीतिको मौलोलाई आफ्नो विर्ता ठानिरहेकाहरुले मुतुनुलाई कति जोगाएका होलान् गोप्य भएको हुनाले थाहा भएन । तर थुतुनुलाई भने अश्लील, अराजक बनाइरहेकाछन् । सुधार पटक्कै भयेन । पहिलेका कुरा छाडौं अहिलेका केही नमुना:
१ पाँच दलीय गठबन्धनलाई एकै पटक कच्च्याक् कुचुक पार्नुपर्छ : के पी ओली (नेकपा एमाले अध्यक्ष गठबन्धनका नेता,कार्यकर्तालाई एकैपटक सिध्याउने चेतावनी दिदै )
२ माधव नेपालको नाम लियें,एकछिनपछि मुख कुल्ला गर्नेछु : केपी ओली (अध्यक्ष नेकपा एमाले) केही महिना पहिलेसम्म एकैपार्टिका सहकर्मी बारे तीतो पोख्दै
३ रुखका मतदाताले हँसियाहथौडामा भोट नदिये देश दुर्घटनामा जानेछ : पुष्प कमल दाहाल (माओवादी अध्यक्ष ) आफ्नी छोरीलाई भोट नदिये जेपनि गर्ने धम्की दिदै
४ विपिलाई फाँसीदिनुपर्छ भन्नेहरु गठबन्धनका विरुद्ध छन्: शेरबहादुर देउवा (प्रधानमन्त्री सभापति नेपाली काङ्ग्रेस) चितवनमा काङ्ग्रेसको सदस्यहरूलाई कार्वाही गरी माओवादी मेयर उमेदवार रेणुका पक्षमा मत माग्दै
५ गठबन्धन नगरे ओली बलियो हुनेछन्: शेरबहादुर देउवा ( प्रधानमन्त्री तथा सभापति) नेपाली काङ्ग्रेस ओलीको भय देखाएर भोट माग्दै
६ काङ्ग्रेसले नजितेका पालिकामा हामी माथिबाट बजेट दिदैनौ: डा आरजु देउवा (प्रधानमन्त्री पत्नी प्रथम महिला नेकाकेस) डडेल्धुरामा भोट माग्दै गर्दा
७ चुनावमा जिताउने भये यश गाउँका छ जनासम्मलाई मलेसिया रोजगारीमा पठाउने छु : आरजु देउवा (प्रधानमन्त्री पत्नी प्रथम महिला नेकाकेस) कैलालीको सभामा
८ युआर नाइस् तर थुतुनो ठीक भयेन । म भैरवको साधक, जुडो खेलाडी जे पनि गर्नसक्छु। आइमाइले जे गरेपनि हुने मैले कुम छुँदा पनि यौन शोषण हुने के हो यस्तो :
(केशव स्थापित कामनपा मेयरकालागि नेकपा एमालेका उमेदवार) यौन शोषणको अभियोग लागेपछि प्रदेशमन्त्रीपद खोसिएको थियो । महिला विद्यार्थीहरुको प्रश्नमा रिसाउँदै दिएको जवाफ
९ माधवकुमार नेपाल,रामचन्द्र पौडेल, डा बाबुराम भट्टराईजीहरुका कुरा त के गरिरहनु र खै ?
के हामी यति नालायक छौं कि श्रापित हौं यिनीहरुकै छत्रछायामा बस्न ? धत्तेरी !

विश्लेषक मुमाराम खनाल लेख्छन्… परोक्ष रुपमा ‘मेरी छोरीले हारिन् भने मुलुक दुर्घटनामा जान्छ’ भन्ने पुष्पकमल दाहाल तथा ‘जहाँ काँग्रेसको मेयर हुन्न, त्यहाँ पैसा पठाईन्न’ भन्ने आरजु देउवा राणाका अविव्यक्तिहरू वर्तमान गठबन्धनलाई बुझ्ने राजनीतिक ऐना हो।
जुन ऐनामा निरंकुशता, सर्वसत्तावाद र लोकतन्त्रविरोधी अनुहारबाहेक केही पनि देखिन्न। गठबन्धनका बाँकी दलहरू सर्वसत्तावादी कमरेड र अझै पनि राणा शासनै चलिरहेको ठान्ने मेडमका लाचार छाँया मात्र देखिन्छन्। दुर्भाग्य…







