काठमाडौं । वैशाख ३० गते हुन लागेको स्थानीय तहको निर्वाचनका दिन सवारी आवागमन व्यवस्थापन गर्नका लागि निर्वाचन आयोगले मापदण्ड जारी गरेको छ ।
आयोगको बिहीबार बसेको बैठकले ‘स्थानीय तह सदस्य निर्वाचन, २०७९ को मतदानको दिनको सवारी आवागमन व्यवस्थापन सम्बन्धी मापदण्ड, २०७९’लाई पारित गरेको हो ।
आयोगले तोकेको मापदण्डअनुसार अत्यावश्यक सेवासँगै उम्मेदवार वा उम्मेदवार निर्वाचन प्रतिनिधिले मतदानको दिन सवारीसाधन चलाउन पाउँछन् ।
सवारी साधान प्रयोग गर्ने अनुमतिपत्र आयोगले, मुख्य निर्वाचन अधिकृत वा निर्वाचत अधिकृत तथा प्रमुख जिल्ला अधिकारीले तोकिएको ढाँचामा जारी गर्नेछन् । तर, काठमाडौंको हकमा निर्वाचन आयोगमा एकीकृत डेस्क खडा गरिने भएको छ ।
सवारीसाधनको अनुमतिका लागि २८ वैशाखसम्ममा निवेदन दिइसक्नुपर्नेछ । तर, विदेशी नम्बर प्लेट भएको सवारी साधन प्रयोगको अनुमति पाउने छैनन् ।
एम्बुलेन्स, खानेपानीको ट्यांकर, दमकल, दूरसञ्चार सेवा, शव बाहन, अस्पताल सेवा तथा विद्युत सेवा जस्ता अत्यावश्यक सेवा र नम्बर प्लेटमा सिडी उल्लेख भएको कूटनीतिक नियोगको सवारीसाधनको हकमा सवारी अनुमतिपत्र लिनुपर्ने छैन ।
मानवीय उद्धार तथा सहायतामा प्रयोग गरिने सवारी साधनका हकमा सम्बन्धित जिल्लाको प्रमुख जिल्ला अधिकारीको अनुमति लिइ सवारीसाधन प्रयोग गर्न सकिनेछ भने अन्तर्राष्ट्रिय हवाई उडानको माध्यमबाट यात्रा गर्ने यात्रुका हकमा पासपोर्ट, भिसा र हवाई टिकटका आधारमा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलसम्म र विमानस्थलबाट यात्रुको बासस्थानसम्मको आवागमनको सहजीकरण हुनेछ ।
मतदानको दिनका लागि दिइने सवारी आवागमनको अनुमतिपत्र सम्बन्धी कार्यमा सहजीकरण गर्न, त्यस सम्बन्धमा आवश्यक व्यवस्था मिलाउन तथा त्यसको अनुगमन गर्नका लागि आयोगले सवारी साधन आवागमन व्यवस्थापन तथा अनुगमन समिति गठन भएको छ ।
जसको संयोजकको जिम्मेवारी आयोगका सहसचिव एवम प्रशासन महाशाखा प्रमुखलाई दिइएको छ भने सदस्यमा गृह मन्त्रालयका अधिकृतस्तरका कर्मचारी, सूचना तथा प्रशारण विभागका अधिकृतस्तरका कर्मचारी, आयोगकै योजना, अनुगमन तथा वैदेशिक सम्बन्ध शाखाका प्रमुख तथा उपसचिव रहनेछन् भने सदस्य सचिव संयोजकले तोकेको आयोगका शाखा अधिकृत रहनेछन् ।
मतदानको दिन कसैले यो मापदण्ड विपरीत सवारी साधान प्रयोग गरेमा सुरक्षा निकाय तथा सुरक्षाकर्मीले त्यस्तो सवारी साधन कब्जामा लिई निर्वाचनको सम्पन्न पश्चात मात्र सम्बन्धितलाई बुझाइने छ ।