शनिबार, कार्तिक २१ २०८३

शनिबार, कार्तिक २१ २०८३

दाह्राकिटेर भरतपुर कांग्रेसलाई प्रचण्डको आक्रोशसहितको थ्रिटेन

शुक्रबार, बैशाख २३ २०७९

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले भरतपुर महानगरमा सत्ता गठबन्धनबाट मेयर उम्मेदवार बनेकी आफ्नी पुत्री रेणु दाहाललाई जिताउनै पर्ने बताएका छन् ।

बिहीबार भरतपुरमा भएको सत्ता गठबन्धनको चुनावी सभामा बोल्दै उनले गठबन्धनको निरन्तरताका लागि पनि भरतपुरमा रेनुलाई जिताउनु पर्ने जिकिर गरे ।

भरतपुरका कांग्रेस कार्यकर्ताले स्थानीय तह निर्वाचनमा हँसिया हथौडामा भोट हाले मात्र गठबन्धन २० वर्षसम्म निरन्तर जाने प्रचण्डले दाबी समेत गरे ।

चितवनका जिल्लाका नेपाली कांग्रेसका नेता तथा कार्यकर्ताले माओवादी केन्द्रले विगतमा जस्तै माओवादी केन्द्रले कांग्रेसलाई धोका दिनसक्ने गरेको आशंकाप्रति लक्षित गर्दै उनले भरतपुरका कांग्रेस कार्यकर्ताले माओवादी केन्द्रको चुनाव चिन्ह हँसिया हथौडामा भोट हालेमा गठबन्धन बलियो मात्र नभई आगामी २० वर्षसम्म लाने प्रतिबद्धता व्यक्त गरे ।

अरुबेला भन्दा अलि बेग्लै शैलीमा सम्बोधन गरेका प्रचण्डले तालमेलको भावनाअनुसार गठबन्धनलाई भोट नहाले देश दुर्घटनामा जाने चेतावनी दिँदै भने, ‘अहिले पनि यो गठबन्धन राष्ट्रको आवश्यकता हो । यो गठबन्धन गणतन्त्र र लोकतन्त्रको आवश्यकता हो । देशको जनताको समृद्धि र विकासको आवश्यकता हो भन्ने नबुझेर हालिँदैन हँसिया हथौडामा भोट भन्नुभयो भने देश दुर्घटनामा जान सक्छ । होइन, यो राष्ट्रको आवश्यकता हो । यो जनताको आवश्यकता हो । यो विकास, समृद्धिको आवश्यकता हो ।’

यो लोकतन्त्रको आवश्यकता हो भनेर तपाईं चितवनवासी जनताले उत्साहपूर्ण ढंगले भोट हालेर यो टिम रेनु दाहाल र चित्रसेन अधिकारीको टिमलाई विजयी गराउनुभयो भने मात्रै म निकै उत्साही हुनेछु र यो गठबन्धनलाई १०, १५, २० वर्ष लाने मेरो प्रतिबद्धता हुनेछ । त्यसकारण म भन्छु तपाईंहरूले खालि नेताहरू मात्रै नहेर्नुस् । तपाईं जिल्लामा बसेर काम गर्ने नेताहरू र चितवनवासी तपाईं जनताको हातमा पनि फैसलाको अधिकार छ । नेताको मात्रै होइन । तपाईंहरूले नेतालाई अनावश्यक दबाब दिनुभयो, राष्ट्रिय आवश्यकतालाई नजरअन्दाज गर्नुभयो भने दुर्घटनामा जान सक्छ ।’
उनले देश दुर्घटनामा परेमा त्यसको जवाफ गठबन्धनको विरोधमा भाषण गरेर हिँड्नेहरूले दिनुपर्ने चेतावनी दिए । आगामी दिनमा पनि शेरबहादुर देउवालाई अगाडि राखेर अघि बढ्न अप्ठ्यारो नमान्ने जिकिर गर्दै उनले भने, ‘परिस्थितिले माग गर्‍यो भने फेरि हामी शेरबहादुरजीलाई अगाडि राखेर गठबन्धन बनाएर, लोकतन्त्रको रक्षा गर्ने, संविधानको रक्षा गर्ने, विकास र समृद्धिको यात्रातर्फ जान हामी अप्ठ्यारो मान्दैनौँ । म लकिरको फकिर होइन । म बौद्ध भिक्षु रहेसम्म घण्टी बजाएर बसिराख्ने मान्छे होइन । मलाई तपाईंहरूले त्यसरी नै बुझ्दा हुन्छ । तपाईंहरूको साथ सहयोग भयो भने म धेरै परसम्म जान सक्छु । तपाईंहरूले अहिले मेरो अभिभावकहरूले भनेजस्तो के हो के हो प्रचण्डको भनेर मलाई आशंकाले हेरेर गठबन्धन कमजोर पार्न खोज्नुभयो भने म त अब दायाँबायाँ गर्दिनँ । देश दुर्घटनामा पर्ने खतरा छ त्यसको जवाफ अहिले यो गठबन्धनको विरोधमा भाषण गरेर हिँड्नेहरूले दिनुपर्नेछ ।’

निकै बेचैनी र आक्रोशित मुद्रा सम्बोधन गरेका प्रचण्डले एमालेका नेताहरूले पुनः मिल्न आग्रह गर्ने गरेको भए पनि आफूले अब त्यो गल्ती नदोहो-याउने बताउँदै भने, ‘कतिपय बेला एमालेका कतिपय साथीहरू होइन हामी नै मिलौँ भन्न आउँछन् आजभोलि । मैले हुँदैन, पहिला त मैले एउटा गल्ती गरेँ अब म दोहोर्‍याउन्न भन्या छु मैले । सुन्नुहोला साथीहरू । भन्दिनुहोला चितवनका सबै राजनीतिक कार्यकर्तालाई । म त्यो गल्ती दोहोर्‍याउन्न । म जनताको फैसला हेर्न चाहन्छु । म राजनीतिक दलहरूको फैसला हेर्न चाहन्छु । जनताको फैसला के हुन्छ त्यसलाई शिरोपर गरेर अगाडि बढ्छु ।’