काठमाडौं । निर्वाचन आयोगले एक दर्जनभन्दा बढी व्यत्ति, संघसंस्था र पार्टीलाई निर्वाचन आचारसंहिता उल्लंघनका विषयमा स्पष्टीकरण सोधेको छ ।
आयोगले नेपाली कांग्रेस पार्टीसँग पनि स्पष्टीकरण सोधेको छ कांग्रेसको स्थानीय तह निर्वाचन केन्द्रीय प्रचारप्रसार समितिको नामबाट ‘ओलीजी गफ गर्छन्, हामी काम गर्छौं, रुख चिन्हमा मतदान गरौँ’ शीर्षकको पर्चा सामाजिक सञ्जालमा देखिएपछि सो राखेको हो वा होइन भनी आयोगले कांग्रेससँग जवाफ मागेको हो ।
यसैगरी यसअघि आयोगले नेपाली कांग्रेसका नेता डा. शशांक कोइरालासँग स्पष्टीकरण सोधेको थियो । कोइरालाले गएको प्रतिनिधि सभा निर्वाचनमा आफ्नो ६ करोड रुपैयाँ खर्च भएको बताएपछि आयोगले उनलाई स्पष्टीकरण सोधेको थियो ।
उक्त निर्वाचनमा आयोगले एक जना उम्मेदवारलाई २५ लाख रुपैयाँ मात्र खर्च गर्न पाउने सीमा तोकेको थियो । निर्वाचनपछि कोइरालाले आयोगमा बुझाएको रिपोर्टमा आफूले निर्वाचनमा २१ लाख ७५ हजार रुपैयाँ खर्च गरेको उल्लेख गरेका थिए । कोइरालालाई स्पष्टीकरण बुझाएपछि आयोगले उनलाई सचेत समेत गरायो ।
हालसालै सोधिएको स्पष्टीकरणमा प्राय सबैलाई चौबिस घण्टाको समय दिईएको छ । निर्वाचन आचारसंहिता गत चैत २६ गतेबाट लागू भएको हो ।