चितवन । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले भरतपुरमा निर्वाचन जित्न कुनै अप्ठ्यारो नभएको दाबी गरेका छन् ।
चितवनको भरतपुरमा बिहीबार हुने पाँचदलीय चुनावी सभालाई सम्बोधन गर्न आएका दाहालले भरतपुरमा विमानस्थलमा पत्रकारसँग संक्षिप्त कुराकानी गर्दै गठबन्धनको धेरै स्थानमा जित हासिल हुने दाबीगरे ।
उनले भने, ‘मलाई निर्वाचन जित्न कुनै अप्ठ्यारो हुन्छ झैँ लागेको छैन । धेरै कारणले निर्वाचनको परिणाम गठबन्धनको पक्षमा हुन्छ’ । उनले गठबन्धनको जितबारे विस्तृत कुरा चुनावी सभामै गर्ने बताए ।
गठबन्धन आफ्नो लाइनमा अघि बढिसकेको भन्दै उनले उमेदवारी दिने स्वतन्त्रता जोकोहीलाई भउको बताए । स्वतन्त्र उमेदवारको विषयमा धेरै चर्चा गर्नुभन्दा गठबन्धन आफ्नो काममा एकताबद्ध भएर अघि बढ्नु उचित हुने उनको भनाइ थियो ।
भरतपुरमा सत्ता गठबन्धनको तर्फबाट प्रचण्डकी छोरी रेणु दाहाल मेयरको लागि चुनावी मैदानमा छिन् । उपमेयरमा कांग्रेसबाट चित्रसेन अधिकारी उम्मेदवार बनेका छन् । सत्ता गठबन्धनमा असन्तुष्ट रहेका कांग्रेस नेता जगन्नाथ पौडेलले स्वतन्त्र उम्मेदारी दिएका छन् ।
चुनावी सभालाई प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड, नेकपा (एकिकृत समाजवादी) का अध्यक्ष माधव कुमार नेपाल, कांग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेललगायतका नेताहरुले सम्बोधन गर्ने कार्यक्रम छ ।