बिहिबार, साउन १४ २०८३

बिहिबार, साउन १४ २०८३

कांग्रेस भरतपुरका ‘अटल खम्बा’ जगन्नाथमाथि चलेन देउवाको जोडबल

बिहिबार, बैशाख २२ २०७९

काठमाडौं । नेपाली कांग्रेस सभापति शेरबहादुर देउवाले चितवनको भरतपुर महानगरपालिकाको मेयर पदका स्वतन्त्र उम्मेदवार जगन्नाथ पौडेललाई निर्वाचनमा निष्क्रिय पार्न जोडबल गरेका छन् ।

उम्मेदवारी फिर्ता लिने दिनअघि नै देउवाले पौडेललाई फोन गरेर उम्मेदवारी फिर्ता लिन अनुरोध गरेका थिए । त्यसपछि उनले पौडेलको उम्मेदवारी फिर्ताका लागि आफ्ना दूतलाई चितवन पठाएका थिए । उनीहरुको जोडबल नलागेपछि पौडेललाई फकाउन कै लागि देउवा अहिले आफैं हिजोदेखि भरतपुरमा छन् । 

बिहीबार चितवनको भरतपुरमा हुने गठबन्धनको चुनावी सभाको निहुँ पारेर देउवा भरतपुर पुगेका हुन् ।

चितवनमा आज हुने गठबन्धनको चुनावीसभालाई सम्बोधन गर्न भरतपुर पुगेका कांग्रेस वरिष्ठ नेता एवं गठबन्धनको निर्वाचन परिचालन समितिका संयोजक रामचन्द्र पौडेलले समेत पौडेललाई फकाएका थिए । तर, उनीहरुको प्रयास निरर्थक बन्दै गएको छ ।

आज बिहान भरतपुरको सिराईचुली होटलमा उनीहरुबीच वार्ता भएको थियो । उनी निकट नेताहरुले कांग्रेस जोगाउन आफूहरूले स्वतन्त्र प्रतिस्पर्धा गरेकाले उम्मेदवारी फिर्ता नहुने अडान दोहोर्याएका थिए । 

पौडेललाई निष्क्रिय पारेर गठबन्धनबाट प्रमुख पदकी उम्मेदवार बनेकी रेणु दाहालको पक्षमा चुनावी माहोल बनाउन देउवालगायत कांग्रेसका नेताले जोडबल गरेका छन् । देउवा, रामचन्द्र पौडेलले जगन्नाथ पौडेलसँग छलफलसमेत गरेको कांग्रेसका एक नेताले जानकारी दिए । 
जगन्नाथ पौडेल भने निष्क्रिय हुन सकारात्मक भइसकेका छैनन् । देउवाले उनलाई ‘कन्भिन्स’ पार्न भने प्रयास गरिरहेका छन् ।

तर, कांग्रेस जिल्ला सभापति राजेश्वर खनालले भने पौडेलसँग छलफल गर्ने भन्ने सुनेको र पौडेल सकारात्मक कि नकारात्मक भए भन्ने जानकारी नभएको बताए ।

पौडेललाई १६ वैशाखमा उम्मेदवारी फिर्ता गराउन यसअघि गृहमन्त्री बालकृष्ण खाँण र राज्यमन्त्री उमेश श्रेष्ठलाई देउवाले पौडेलकै घरमा पठाएका थिए । उनीहरूले आग्रहलाई पौडेलले अस्वीकार गरेका थिए ।

यसपछि भने नेता शंकर भण्डारीलाई पनि पौडेललाई भेट्न पठाए । उम्मेदवारी फिर्तादेखि निष्क्रिय रहन अस्वीकार गर्दै आएपछि देउवा नै भरतपुर पुगेका हुन् ।

कांग्रेसले पौडेललाई १६ वैशाखमै पार्टीको साधारण सदस्यतासमेत नरहनेगरी कारबाही गरिसकेको छ । उनी स्वतन्त्र उम्मेदवारको रूपमा निर्वाचन चिह्न ‘भुइँकटहर’ लिएर चुनावी अभियानमा छन् । गठबन्धनको विरुद्धमा रहेका कांग्रेस स्थानीय नेता, कार्यकर्ताले उनलाई साथ दिएका छन् । 

स्वतन्त्र उम्मेदवारी दिएका पौडेल सत्ता गठबन्धनका बागी उम्मेदवार हुन् । उनी गठबन्धनप्रति असन्तुष्ट हुँदै स्वतन्त्र उम्मेदवार बनेका हुन् ।

कांग्रेस भरतपुरका अटल खम्बाका रुपमा परिचय बनाएका जग्गनाथ पौडेल कुनै लोभ लालच र आश्वासनमा उम्मेदवारी फिर्ता नहुने बताउँदै आएका छन् । आफूले दिएको उम्मेदवारी चितवनवासीको लोकतन्त्र र आफ्नो पार्टीलाई बचाउनका लागि सञ्चालन गरेको अभियानसँग मात्रै सम्बन्धित रहेको भन्दै उनले केन्द्रीय गठबन्धनसँग सम्बन्धित नरहेको बताइसकेका छन् ।