शुक्रबार, साउन १५ २०८३

शुक्रबार, साउन १५ २०८३

माधव नेपाललाई भ्रष्टाचार मुद्धामा जोगाउन अहिलेको सत्तागठबन्धन: कांग्रेस नेता रिजाल 

बिहिबार, बैशाख २२ २०७९

काठमाडौं । सत्तारुढ नेपाली कांग्रेसका चर्चित नेता एवं पूर्वमन्त्री डा. मिनेन्द्र रिजालले एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाललाई भ्रष्टाचार मुद्धामा जोगाउन अहिलेको एलाइन्स भएको बताएका छन् ।

संविधानको रक्षाका लागि गठबन्धन बनाइएको भन्दै सत्तारुढका नेताले बोलिरहेको बेला कांग्रेस नेता डा. रिजालले यस्तो बताए। साथै उनले यो गठबन्धन केवल चुनावी गठबन्धनका लागि बनेको समेत खुलासा गरे ।

माधव नेपाललाई अख्तियार लगाएर उनको भविष्य नै धरापमा पर्ने भएपछि सत्तागठबन्धन हुनु परेको रिजालले बताए ।

चर्चित पत्रकार बिजयकुमार पाण्डेसँगको टेलिभिजन अन्तवार्तामा कांग्रेस नेता रिजालले माधव नेपालले बालुवाटार जग्गा प्रकरणमा गल्ती गरेको कारण जेलमा जाने अवस्था आएपछि कांग्रेस सभापति शेरबहादुर देउवाले जोगाउनै पर्यो भन्दै केपी शर्मा ओलीको बिरुद्धमा गठबन्धनको नेतृत्व गरेको बताए ।

उनले भने, ‘हामीले पटक पटक ओलीजीलाई हटाएर अगाडि बढनु पर्छ भनेको थियौं, तर हाम्रो सभापति शेरबहादुर देउवा तयार हुनुभएको थिएन । एउटा बिन्दु आयो, यो बाहिर सार्वजनिक भएको छैन, मैले भन्नैपर्छ, बालुवाटार जग्गा प्रकरणमा माधव नेपाल जेल जाने बिन्दुमा पुगेपछि उहाँलाई जोगाउनका लागि ओलीको बिकल्पको गठबन्धन बनाउन उहाँ तयार हुनुभएको हो ।’

२०६६ सालमा माधव नेपाल प्रधानमन्त्री भएको बेलामा मन्त्रीलाई समेत थाहा नदिई फरक मन्त्रालयबाट प्रस्ताव ल्याएर मन्त्रिपरिषदबाट बालुवाटारको सरकारी जग्गा ब्यक्तिको नाममा गरिएको थियो ।

बालुवाटारस्थित ललिता निवासको सरकारी जग्गा प्रकरणमा तात्कालिन प्रधानमन्त्री माधवकुमार नेपाल मुछिएका छन् । तात्कालिन प्रधानमन्त्री नेपालले सम्बन्ध नै नरहेको मन्त्रालयलाई समेत प्रयोग गरी ललितानिवासको जग्गा प्रकरणमा उनकै मन्त्रिपरिषदबाट निर्णय भएको थियो ।

ललितानिवास प्रकरणमा नेपाल नेतृत्वको सरकारमा रहेका तीन मन्त्रीले आफूहरुलाई जानकारी नभएको र मन्त्रिपरिषदमा छलफल पनि नभएको तथ्य यसअघि नै खोलिसकेका छन् भने पूर्वसचिव शारदाप्रसाद त्रितालको समितिले दिएको प्रतिवेदनका आधारमा छानविन गर्दा नेपाल नेतृत्वको सरकारले बदमासी गरेको तथ्य बाहिर ल्याएको थियो ।