शनिबार, कार्तिक २१ २०८३

शनिबार, कार्तिक २१ २०८३

वीपीको आदर्श बोकेर काठमाडौं महानगरमा मेयरको प्रतिस्पर्धामा उत्रिए महामन्त्री भुसाल

मंगलबार, बैशाख २० २०७९

काठमाडौं। विश्वेश्वर प्रसाद (वीपी) कोइरालाको आदर्शलाई धुलीसात पार्दै कम्युनिस्टसँग तालमेल गरेको नेपाली कांग्रेसलाई चुनौति दिँदै भक्तराज भुसाल काठमाडौंको मेयरमा उठेका छन्। उनी नेपाली कांग्रेस (वीपी)का महामन्त्री हुन्।

करुवा चुनाव चिन्हसहित मैदानमा उत्रिएका उनले धार्मिक स्वतन्त्रतासहित हिन्दूत्वलाई त्यागी धर्म निरपेक्षतामा उभिएका कारण मौलिकता जोगाउन पार्टी अघि बढेको बताए।

काठमाडौं महानगरपालिकामा रहेको व्याप्त बेथिति र भ्रष्टाचारको निर्मूलीकरण, चुनावमा उम्मेदवार बन्नका लागि करोडौं रकम तिर्नुपर्ने बाध्यताका कारण भ्रष्टाचार बढेको र त्यसलाई निमिट्यान्न पार्न आफूले मेयरमा उम्मेदवारी दिएको भुसालले बताए।

उनी भन्छन्,‘हाम्रो जितको लहर ठूला सहरबाट हुनेछन्। शेरबहादुर देउवाको गृहजिल्ला डडेल्धुराबाट नै जितको लहर छाउनेछ।’ भरतपुर, बिराटनगरलगायतमा पनि बिजय हुने भुसालको दाबी छ।

काठमाडौं महानगरको फोहोर व्यवस्थापनदेखि खानेपानीका समस्या, सहरलाई व्यवस्थित र हाइटेक शैलीमा लैजानका लागि कुनै पनि पार्टी र नेताले ध्यान नदिएको र आफूले नेतृत्व पाएको खण्डमा पूरा गर्ने भुसालले बताएका छन्।

कांग्रेसले वीपीको एजेन्डा छाडेका कारण प्रजातान्त्रिक वैचारिक व्यवस्था सुरु नगरी नहुने अवस्था आएको बताउँदै भुसाल भन्छन्,‘वीपीले राजा नरहे प्रजातन्त्र र मुलुक नै नरहने बताउनुभएको थियो। अहिले त्यस्तै अवस्था देखिएको छ। कांग्रेसले लिक छाडेपछि हामी स्वतः वीपी विचारलाई जोगाउनका लागि मैदानमा उत्रिनु परेको छ।’

गरिबको उत्थानका निम्ति वीपीले साँचेको सपनालाई पूरा गर्नका निम्ति पनि पार्टीबाट मेयरको उम्मेदवार बनेको बताएका उनी भन्छन्,‘हामी प्रजातान्त्रिक प्रणाली, धार्मिक स्वतन्त्रतासहित हिन्दू राष्ट्र कायम गर्ने पक्षमा छौं। त्यो अभियानमा हामी सक्रिय हुनेछौं।’