काठमाडौं । इस्लाम समुदायले आज इद उल फित्र पर्व मनाइरहेका छन् ।
देशभरका मुसलमानले विशेष नमाज पाठ गरी ठूलाबडाबाट आशीर्वाद लिएर इद उल फित्र पर्व मनाइरहेका हुन् ।
इस्लाम परम्परामा एकमहिने रमजान व्रत पूरा भएको भोलिपल्ट इद–उल–फित्र मनाउने परम्परा छ ।
बोलीचालीमा इद भनिने इस्लाम परम्पराको यो मुख्य पर्व मानिन्छ । रमजान उर्दू (हिजरी) संवत्अनुसार नवौँ महिना हो । यसै महिनामा पवित्र इस्लाम ग्रन्थ कुरान पृथ्वीमा अवतरण भएको विश्वास गरिन्छ ।
यो महिनामा गरिने रोजा (व्रतं) ले अल्लाह (ईश्वर) को कृपादृष्टि प्राप्त हुने धार्मिक मत छ । रमजान महिनामा दिनभरि अन्नजल केही नखाइ कठोर व्रत गरेपछि हिजरी संवत् परम्पराको १०औँ महिना सौव्वाल प्रारम्भ भएकै दिन इद मनाइन्छ ।
चन्द्रमाको गतिका आधारमा तय गरिने इदपर्व रमजान सकिएपछि सुरु हुने शुक्लपक्षमा पहिलोपटक चन्द्रमा देखिएपछि (सामान्यत द्वितीयाका दिन) त्यसको भोलिपल्ट मनाइने इस्लाम परम्परा छ । सामान्यतया ३० दिन रोजा पूरा भएपछि मनाइने यो पर्वबारे तोकिएका क्षेत्रका मुख्य मौलाना (धर्माधिकारी) चन्द्रमा देखिएको घोषणा गरेर भोलिपल्ट इद मनाउन आह्वान गरेपछि पर्व मनाइने हुँदा कहिलेकाहीँ फरक–फरक क्षेत्रमा दिन पनि फरक पर्ने गरेको छ ।
पर्व मनाउन सरकारले आज सार्वजनिक बिदा समेत दिएको छ ।