काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले चुनावको मुखमा एकपछि अर्को विवादास्प्द निर्णय गरेको भन्दै उनकै पार्टी कांग्रेस भित्र र बाहिर आलोचना सुरु भएको छ ।
पछिल्लो पटक प्रहरी महानिरीक्षकमा आफू निकट धिरजप्रताप सिंहलाई नियुक्ति गरेपछि उनको आलोचना झनै आकासिएको छ । आइताबार मात्र देउवाको क्याबिनेटले उनकै जोडबल र अड्डीमा क्रम सहितको विधि भंग गरी मर्यादाक्रमका विश्वराज पोख्रेललाई पाखा लगाएर सिंहलाई प्रहरी प्रमुख बनाएको छ ।
पटक पटक प्रधानमन्त्री हुन सफल देउवा एकपछि अर्को गल्ती गर्नमा भने निक्कै अगाडि छन् । राजनीतिका चतुर खेलाडी मानिने देउवा आफु निकट र आफ्नो भूगोल प्रेमी छन् । स्वार्थका लागि जुनसुकै कदम चाल्न सक्ने आदत भएका देउवा दक्षिण छिमेकी र पश्चिमा मुलुकका प्यारा छन् ।
अदालत र अन्य दलको जोडबलमा पाँचौ पटक प्रधानमन्त्री बनेका देउवा मन्त्रिपरिषद विस्तार नहुँदै आलोचित बनेका थिए । मन्त्रिपरिषद विस्तार गर्न नसकेको आरोप खेपिरहेका देउवा गैर राजनीतिक व्यक्ति उमेश श्रेष्ठलाई मन्त्री बनाएपछि उनको आलोचना अझ चरम भएको थियो ।
यति मात्र कहाँ होर उनी यस पटक सुपारी आयात, गभर्नर निलम्बन, राजदूत सिफारिस, गैर सांसदलाई मन्त्री लगायत दजनौं विषयमा विवादमा फसेका छन् । विशेष रुपमा अर्थमन्त्री जनार्दन शर्माको जोटबलमा देउवाको क्याबिनेटले गभर्नर निलम्बन गरेपछि देउवा सरकारको चौतर्फी आलोचना भएको थियो । अर्थतन्त्र संकटोन्मुख अवस्थतामा गभर्नर महाप्रसाद अधिकारीलाई निलम्बन गरेपछि यो निर्णय विवादास्पद भएको हो ।
पुराना गल्ती भूलेर हो या आफू नजिकको कसैको उक्साहटमा देउवा पटक-पटक यस्ता निर्णय गर्न पुग्छन् भन्ने आशंका गरिन थालिएको छ । नत्र भने अच्युतकृष्ण खरेल र डा. तिलक रावलको पदमुक्ति र पुनर्स्थापना विगतका कानुनी रुपमा नजिर थिए। तर, यसलाई उपेक्षा गर्दै केही दिन अघि मात्र देउवा सरकारले राष्ट्र बैकको गभर्नर हटाउने निर्णय गरेको थियो ।
अधिकारीले सरकारलाई असहयोग गरेको भन्दै २५ चैतको मन्त्रिपरिषद् बैठकले उनलाई निलम्बन गरेको थियो । तर, सरकारको निर्णयविरुद्ध अधिकारी ४ वैशाखमा सर्वोच्च पुगे । उनको रिटमा सर्वोच्चले अन्तरिम आदेश दिँदै छानबिनको निर्णय कार्यान्वयन नगर्न भनिसकेको छ । ‘नेपाल राष्ट्र बैंक ऐनको दफा २२ मा गभर्नर पदमुक्त गर्ने अवस्थामा मात्रै छानबिन समिति गठन गर्नुपर्ने व्यवस्था भएको र अधिकारीलाई पदमुक्त गर्नुपर्ने अवस्था किन आएको खुलेको छैन,’ अन्तरिम आदेशमा भनिएको छ । यो निर्णयबाट देउवा सरकारमाथि ठेस लागेको छ ।
यसैगरी देउवाले अर्को विवादास्पद निर्णय गरेका छन् । उनले गैर सांसदलाई मन्त्री बनाएका छन् । सत्ता गठबन्धनको तर्फबाट एकीकृत समाजवादीनिकट गोविन्द बन्दीलाई देउवाले कानुन न्याय तथा संसदीय मामिलामन्त्रीमा नियुक्त गरेका छन् ।
विगतमा केपी ओली नेतृत्वको सरकारले गैरसांसद युवराज खतिवडालाई मन्त्री बनाएकोमा कांग्रेसले खुबै आलोचना गरेको थियो । तर, अन्तत: देउवाले नै २४ चैतमा बन्दीलाई मन्त्री बनाउनाले कांग्रेस भित्रै आलोचना भएको छ ।
आलोचना र विरोधले देउवालाई खासै फरक पार्दैन । आफ्नै पार्टी भित्र समेत उनको खुबै आलोचना हुने गर्छ तर, राजनीतिका माहिर खेलाडी देउवा अन्ततः हरेक निर्णय गराउन सफल हुन्छन् ।
यसैगरी ०७३ सालमा चुनावको समयमा प्रहरी प्रमुख परिवर्तन गरेपछिको उत्पात नेपाली कांग्रेसका लागि घातक भयो । त्यो बेलामा पनि प्रधानमन्त्रीमा शेरबहादुर देउवा नै थिए । उनको दवावले नै महानिरीक्षकबारे विवादास्पद निर्णय भएको थियो ।
नेपाल प्रहरीको आईजीपी नियुक्ति प्रकरणमा प्रधानमन्त्री शेरबहादुर देउवा हरेक पटक विवादमा तानिने गरेका छन् । आइतबार धिरजप्रताप सिंहलाई आईजीपी बनाउने निर्णय गरेसँगै देउवा विवादमा तानिएका छन् । सिंहभन्दा विश्वराज पोखरेल १८ महिनाअगाडि र सहकुल थापा ७ महिनाअघि एआईजी बढुवा भएका थिए । वरिष्ठतामा पहिलो र दोस्रो नम्बरमा रहेकालाई पन्छाएर देउवाकै जोडबलमा महिना दिनअघि मात्र एआईजी बनेका सिंहलाई आईजीपी बने ।
प्रहरी महानिरीक्षक नियुक्तिमा तत्कालको वरियतालाई मिचेर कसैका आफन्त खुसी गराउन कसैका घर प्रसन्न राख्न र भनिन्छ अरु पनि केही सेटिङका आधारमा चलखेल भएको भन्ने व्यापक छ ।
प्रधानमन्त्री देउवा सेटिङ र भूगोलमा चल्ने गरेको भन्दै कांग्रेस भित्रै आलोचना हुन थालेको छ । कांग्रेसका सल्लाहकार समेत भएर काम गरेका वौद्धिक नेताका रुपमा परिचित पुरुषोत्तम दाहालले यस विषयमा प्रश्न गरेका छन् । उनले कतै प्रधानमन्त्री निकट रहेर काम गरिरहेकाहरु नै यस्तो विवादास्पद निर्णय गर्न उक्साही रहेका त छैनन् ? भनि आशंका व्यक्त गरेका छन् । हाल भ्रमणका शिलशिलामा अमेरिका पुगेका दाहालले सामाजिक संजाल मार्फत यस्तो आशंका व्यक्त गरेका हुन् ।
उनले लेखका छन्- ‘गठबन्धनका नेता, गृहमन्त्री, गृह प्रशासन, पार्टीका प्रभावशाली पदाधिकारीहरुपनि यस्तो अन्याय गर्न प्रधानमन्त्रीलाई उक्साइ रहेका छन् वा देउवा आफै यस्तो निर्णय गर्छन् भन्ने प्रश्न जम्मिएका छन् । नत्र क्रम सहितको विधि भङ्ग गरी विश्वराज पोख्रेललाई पाखा लगायेर कुनै सिंहलाई प्रमुख नियुक्त गरियो रु विश्वराज सुदुर पूर्वी पहाड ओखल्ढुङ्गाको सामान्य किसान वाहुन परिवारको सदस्य नभएर कुनै सुदुर पश्चिमको कुनै ठकुरी बाबुसाहेव परिवारमा जन्मेको भए यसरी पेलिन्थ्यो त रु अब जवाफ खोज्न थाले भएको छ ।’

‘सरकारका लागि मात्रै भएको गठबन्धन चुनावी तालमेलमा परिणत गरेपछि काङ्ग्रेसको चुरो मरेको अनुभव धेरैले गरिरहेका छन् । प्रहरी महानिरीक्षक प्रकरणमा भएको यस्तो अन्याय आगोमा घिउ थप्न पर्याप्त छ ।’ दाहालले लेखेका छन् ।
देउवा यो पाला मात्र यस्ता विवादास्पद निर्णय र नियुक्तिमा हात हाल्ने गरेका होइनन् । उनका विगत झनै ओलोचित थिए । जसका कारण कांग्रेसको पटकपटक शिर निहुरिएको छ ।