काठमाडौं । पाँच दलीय गठबन्धन भित्रैबाट बागी उम्मेदवारले मनोनय फिर्ता नलिएपछि सत्ता गठबन्धन अप्ठ्यारोमा परेको छ ।
फकाई फुल्याई, आश्वासन र धम्की र कारबाहीले समेत बागीले उम्मेदवारी फिर्ता नलिएपछि सत्ता गठबन्धनका दलहरुलाई समस्या परेको हो ।
यसरी समस्या परेसँगै त्यसमा आवश्यक निर्णय गर्न सत्ता गठबन्धनको बैठक समेत बसेको थियो ।
उक्त बैठकले पाँच दलीय गठबन्धनले उम्मेदवारी फिर्ता नलिएका र फिर्ता लिने समय अपुग भएका स्थानीय तहमा गठबन्धन दलहरूबीच भएको समझदारीअनुसार तालमेल गर्न आ–आफ्ना दलले मातहतका निकायहरूलाई निर्देशन दिने निर्णय गरेको छ ।
दलका आधिकारिक र स्वतन्त्र उम्मेदवारहरूले निर्वाचन चिह्न पाएपछि कांग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेल संयोजक रहेको गठबन्धन दलहरूको आन्तरिक तयारी र अनुगमन गर्ने संयन्त्रको आइतबार बिहान बसेको बैठकले यस्तो निर्णय गरेको हो ।
ठाउँ ठाउँमा गठबन्धनका केही दलले तालमेलको समझदारीविपरीत उम्मेदवारी दर्ता गराए पनि फिर्ता लिएनन् । उम्मेदवारी फिर्ता नलिएपछि गठबन्धन दलहरूबीच केही ठाउँमा तालमेलको विषय पेचिलो बनेको छ ।
यस्तै बैठकले गठबन्धनको मर्म र भावनाअनरुप आपसी एकता कायम गर्दै निर्वाचनमा सक्रियतापूर्वक जिम्मेवारी पूरा गर्ने निर्णय पनि गरेको छ । निर्णय पालना नगर्नेलाई आ–आफ्ना दलले कारबाही गर्ने पनि बैठकको निर्णय छ ।