काठमाडौं । पाँच दलीय गठबन्धनमा रहेका दलहरू नेपाली कांग्रेस र नेकपा (माओवादी केन्द्र), एकीकृत समाजवादीले गठबन्धनको निर्णयविपरीत गरेका तालमेलले मान्यता नपाउने भएको छ ।
गठबन्धनले यसअघि अन्य दलसँग तालमेल नगर्ने निर्णय गरेको थियो । तर, ठाउँ ठाउँमा निर्णयविपरीत तालमेल भयो ।
शुक्रबारको निर्णयले भने त्यस्तो तालमेल खारेज हुने भएको हो । गठबन्धनमा रहेका दलहरू कांग्रेस र माओवादी केन्द्र, यसैगरी एकीकृत समाजवादीले समेत एमालेसँग केही जिल्लाको स्थानीय तहमा तालमेल गरेका छन् । यसै गरी कांग्रेसले दमक नगरपालिकामा एमालेविरुद्ध राप्रपासँग तालमेल गरेको छ ।
भोजपुरको आमचोक गाउँपालिकामा एमाले–कांग्रेसबीच तालमेल भएको छ ।
गुल्मीको धर्कोटमा भने एमाले–माओवादीबीच तालमेल भएको छ । बाग्मती प्रदेशको सिन्धुपाल्चोकस्थित सुनकोसी गाउँपालिकामा पनि एमाले–माओवादी तालमेलको निर्णय बिहीबार भएको छ ।
यसैगरी अर्को अनौठोको कुरा चाहिँ हुम्लामा देखिएको छ । त्यहाँ एमाले र एकीकृत समाजवादीबीच तालमेल भएको छ । हुम्लाको चंखेली गाउँपालिकामा भने चुनावी तालमेल भएको हो ।
एमाले र एकीकृत समाजवादीबीच चुनावी तालमेलपछि अध्यक्षमा एमालेका विमलाकुमार शाही र एकीकृत समाजवादीबाट उपाध्यक्षमा प्रेमकला शाहीले उम्मेदवारी दिएका छन् । एमालेले उपाध्यक्ष र एकीकृत समाजवादीले अध्यक्षमा उम्मेदवार उठाएका छैनन् ।
गठबन्धनको निर्णयविपरीत भएका तालमेल शुक्रबार बसेको गठबन्धन बैठकले गरेको निर्णयले खारेज गर्ने भएको छ । अब यी स्थानमा भएको तालमेललाई त्यहाँका नेता कार्यकर्ताले कस्तो रुपमा लेलान् भन्ने चासो बढेको छ ।