काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले स्थानीय तह निर्वाचनमा कांग्रेसको उम्मेदवारको मुख नहेरी रुखलाई हेरेर मतदान गर्न नेता, कार्यकर्ताहरुलाई आग्रह गरेका छन् ।
बिहीबार काठमाडौंमा आयोजित नेपाली कांग्रेस सुनापति गाउँपालिका केन्द्रीत चुनावी अभियानको भेलालाई सम्बोधन गर्दै शर्माले कांग्रेसको उम्मेदवारहरुको मुख नहेरी रुख चिन्हमा मतदान गर्न नेता, कार्यकर्ताहरुलाई आग्रह गरे ।
उनले जो–जो व्यक्ति भएको भएपनि रुख चिन्ह लिएर उठेको कांग्रेसको उम्मेदवार भएको उल्लेख गर्दै व्यक्तिमा असन्तुष्टि भएपनि कांग्रेस पार्टीलाई मत दिनुपर्ने बताए ।
उनले भने, ‘देशभरीका साथीहरुलाई उम्मेदवारी दर्ता भइसकेर टुंगोमा पुगिसकेको यो बेलामा अब मुख हेर्ने होइन रुख हेर्ने हो र नेपाली कांग्रेस पार्टीलाई विजयी बनाउनका लागि एकढिक्का भएर लाग्न म अपिल र आग्रह गर्न चाहान्छु ।’
शर्माले दश वर्षमा देशलाई बिजुली बेचेर धनी बनाउने सपना कांग्रेसको रहेको बताए । उनले एमसीसी परियोजना सफल भएर दश वर्षमा हरेक नेपालीको चुल्होमा बिजुलीले खान पकाउन सक्ने अवस्था आउने पनि उल्लेख गरे ।
महामन्त्री शर्माले नेपाली कांग्रेसलाई मतदान गर्ने मतदाताहरुलाई सुरक्षा दिदैँ मतदानस्थलसम्म लैजान युवाहरुलाई निर्देशन समेत दिए ।