शुक्रबार, साउन १५ २०८३

शुक्रबार, साउन १५ २०८३

गठबन्धनको बागी मिलाउन मन्त्रीहरुकै दौडधुप, उम्मेदवारी फिर्ता लिन देउवाले गरे आग्रह

बिहिबार, बैशाख १५ २०७९

चितवन । सत्तारुढ गठबन्धन भित्रको बागी उम्मेदवारी फिर्ता गराउन नेताहरुको दौडधुप सुरु भएको छ ।

कांग्रेस नेता एवं गृहमन्त्री बालकृष्ण खाँडदेखि प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालयका राज्यमन्त्री उमेश श्रेष्ठसम्म यतिबेला लबिङमा छन् ।

सर्वत्र चासोको रुपमा हेरिएको भरतपुर नगरपालिकामा कांग्रेसबाट बागी उम्मेदवारी परेको छ । 

बागी उम्मेदवारी दिएका नेता मिलाउन चितवन पुगेका कांग्रेस नेता एवं गृहमन्त्री खाँणलाई कांग्रेसबाट बागी उम्मेदवारी दिएका जगन्नाथ पौडेलले कुनै पनि हालतमा ब्याक नहुने सन्देश दिएका छन् ।

गृहमन्त्री खाँणले पौडेलको उम्मेवारी फिर्ता गराउन पूर्वजिल्ला सभापति कृष्णलाल सापकोटासँग समेत भेट गरेका थिए ।

यति बेला पौडेललाई फकाउन नेताहरुको दौडधुप जारी छ । उनको उम्मेदवारी फिर्ता गराउन गृहमन्त्री खाँणदेखि प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालयका राज्यमन्त्री उमेश श्रेष्ठसम्म चितवन पुगिसकेका छन् । श्रेष्ठले आज बिहान पौडेललाई उनकै निवासमा पुगेर भेटेर उम्मेदवारी फिर्ता लिइदिन आग्रह गरेका छन् ।

प्रतिउत्तरमा पौडेलले आफूले नभइ गठबन्धनबाट उम्मेदवार बनेकी माओवादीकी रेणु दाहालको उम्मेदवारी फिर्ता भए चितवन कांग्रेसलाई न्याय हुने जनाएका थिए ।

पूर्व सांसद समेत रहेका पौडेलले कुनै पनि अवस्थामा आफ्नो उम्मेदवारी फिर्ता नहुने दोहोर्याएका थिए ।

यसैगरी पूर्व जिल्लासभापति सापकोटाले पनि गृहमन्त्री खाँडलाई भरतपुरका कांग्रेसले रुखमा भोट हाल्न नपाउनु बिडम्बना रहेको भन्दै उम्मेदवारी यथावत रहने जनाएका थिए ।

सरकारका मन्त्रीबाट आचारसंहिता उल्लंघनदेखि राज्यकोषको दोहन

यसैबीच सभापति शेरबहादुर देउवाले स्वतन्त्र उम्मेदवारी फिर्ता लिन पार्टीका नेता कार्यकर्तालाई आग्रह गरेका छन् । आज एक वक्तव्य जारी गर्दै देउवाले पार्टी र गठबन्धनका आधिकारिक उम्मेदवारविरुद्ध दर्ता भएको स्वतन्त्र उम्मेदवारी फिर्ता लिन आग्रह गरेका हुन् ।