भैरहवा । पूर्वमन्त्री तथा नेकपा एमाले स्थायी कमिटी सदस्य घनश्याम भुसालले विगत पाँच वर्षमा एमाले प्रतिनिधिले गरेको विकास नै भावी स्थानीय तहमा जितको आधार रहेको बताएका छन् ।
उनले पाँच वर्षमा एमाले नेतृत्वको स्थानीय तहमा देखिनेगरी भएको विकास नै आगामी निर्वाचनमा जितको अर्को आधार भएको बताए।
नेकपा एमाले सिद्धार्थ नगर कमिटीद्वारा मंगलबार आयोजित उममेदवारहरुको परिचय तथा पत्रकार सम्मेलन कार्यक्रममा बोल्दै भुसालले आसन्न स्थानीय तहको निर्वाचनमा एमालेका उम्मेदवारको विजयी यात्रा सुनिश्चित भएको दाबी गरे ।
एमालेका उम्मेदवारहरुको इमान्दारीता र असलपनले नै नगरबासीको मन जित्ने उनले बताए । उनले निर्वाचनमा इमान्दार र असल व्यक्तित्व भएका उमेदवारलाई मत दिनुपर्ने बताउँदै भुसाले यतिबेला स्थानीय तहको निर्वाचनको क्रममा केही ठाउँहरुमा जस्तो सुकै प्रवृत्तिका मान्छे पनि उम्मेदवार भएको बताए ।
‘मतदातालाई विभिन्न आश्वासन र सपना बाड्न सक्छन् त्यस तर्फ सबै सचेत हुदैं असल र इमान्दार व्यक्तित्व छनौट गर्नु पर्दछ ’ उनले भने ।
नेता भुसालले एमालेको तर्फबाट सिद्धार्थनगरमा मेयरका उम्मेदवार डा।रामप्रसाद बस्यालको प्रशंसा गर्दै भने, ‘राजनैतिक इमान्दारीता र परिपक्वताको दृष्टिले अत्यन्तै असल छबीका व्यक्ति मात्रै होइन आम सिद्धार्थनगरबासीको रोजाइको हिसाबले पनि सबैको साझा उम्मेदवार हो ।’
रुपन्देही प्रचार विभाग प्रमुख हितराज पन्थिले एमालेको राष्ट्रियता, देशभक्ति र समग्र मुलुकको दीर्घकालिन विकासको योजना नै जितको मुख्य आधार भएको बताए ।
चार दशकदेखि एमालेको राजनीतिमा सक्रिय मेयरका उम्मेदवार डा. बस्यालले सिद्धार्थनगरमा उदाहरणीय काम गर्दै जनताको सेवक हुनेगरी आफ्नो उम्मेदवारी रहेको बताए ।