शनिबार, कार्तिक २१ २०८३

शनिबार, कार्तिक २१ २०८३

कांग्रेसको टिकट वितरणप्रति शेखरले भने: आर्थिक चलखेल र अनियमितताका कारण इमान्दार, निष्ठावान नेता-कार्यकर्ता मारमा परे

बुधबार, बैशाख १४ २०७९

काठमाडौं । नेपाली कांग्रेसका नेता शेखर कोइरालाले टिकट वितरणमा पार्टीबाट अन्याय भएको गुनासो गरेका छन् ।

स्थानीय निर्वाचनका लागि टिकट वितरणमा पक्षपात र पैसाको खेल भएको भन्दै देशभरबाट पार्टी नेता कार्यकर्ताको गुनासो आएपछि आज उनले एक विज्ञप्ति जारी गर्दै यस्तो गुनासो गरेका हुन् ।

टिकट वितरण कार्यमा जिम्मेवारी पाएकाहरुले पार्टी कार्यकर्ताहरु प्रति समानरुपले न्याय नगरेको बताउँदै उनले जसका कारण कयौं नेता कार्यकर्ता बाध्यवश अन्य पार्टीमा ओत लाग्न जाने वा स्वतन्त्र उम्मेदवारी दिन बाध्य भइरहेको बताएका छन् ।

उनले विज्ञप्ति मार्फत भनेका छन् ‘टिकट वितरणमा एउटा मापदण्ड बनाइ अगाडि बढ्दा सबैप्रति न्याय गर्न सकिने छ भनी हामीले बारम्बार केन्द्रीय समिति, कार्यसम्पादन समिति र सामूहिकरुपमा साथीहरुबीच उठाएका थियौँ, तर हाम्रो कुरा ध्यानपूर्वक सुनिएन । अहिले दुःखको साथ भन्नुपर्छ टिकट वितरण कार्यमा जिम्मेवारी पाएका साथीहरुले पार्टी कार्यकर्ताहरु प्रति समानरुपले न्याय गर्न सक्नुभएन ।’ 
‘…..जीवनभर कांग्रेसको सिद्धान्त, मूल्यपद्धति र आदर्शप्रति समर्पित बरिष्ठ साथीहरु यतिखेर पार्टी छाडि अन्य पार्टीमा ओत लाग्न पुगेका छन् । कैयौँ साथीहरु स्वतन्त्र उमेदवारको रुपमा चुनावी मैदानमा जान बाध्य हुनुहुन्छ । ती साथीहरुलाई कांग्रेसको मुल प्रबाहमा फर्कन म आग्रह गर्दछु । त्यस्तै टिकट वितरणमा आर्थिक चलखेल र अनियमितता भयो भन्ने कुराहरु पनि यतिखेर सार्वजनिक भइरहेका छन र त्यसको पीडा इमान्दार र निष्ठावान कार्यकर्ताहरु भोग्दैछन ।’ उनले भनेका छन् ।

उनले कैयन साथीहरुको राजनीतिक जीवन समाप्त पार्ने योजनाबद्ध प्रयत्नहरु भएको बताउँदै कैयन साथीहरुलाई राज्य र पार्टी संयन्त्रको दुरुपयोग गरी अनेकन जालझेल मुद्दामा फसाएर तिनको राजनीतिक हत्या गर्ने षडयन्त्र पनि भइरहेको बताएका छन् । पार्टीभित्र रहेका यस्ता गलत कार्यहरु तत्काल अन्त्य हुनुपर्ने उनले बताएका छन् ।

‘कांग्रेस केन्द्रीय कार्यसमितिमा टिकट वितरण प्रक्रियामा कुन मापदण्ड अपनाइयो त्यसको अध्ययन, अनुसन्धान र समीक्षा गरिनेछ भनी साथीहरुलाई म विश्वस्त पार्न चाहन्छु । निसन्देह, अहिले हाम्रो अगाडि निर्वाचन छ र हामी पार्टी हितलाई सर्वोपरि ठानी तत्काललाई असन्तुष्टिहरु छाती भित्र राखी कांग्रेसको विजयी अभियानमा होमिने छौं । साथीहरुबाट पनि म यही अपेक्षा गर्दछु,’ उनले उल्लेख गरेका छन् ।

पार्टी भित्र न्यायको पक्षमा निरन्तर आवाज उठाइरहने प्रण गर्दै कोइरालाले कांग्रेसको निर्णय प्रक्रिया गर्ने ठाउँमा संख्यामा थोरै संख्यामा रहेपनि आफूहरु न्यायका लागि लडिरहने बताएका छन् । 

b.PNG