शनिबार, कार्तिक २१ २०८३

शनिबार, कार्तिक २१ २०८३

कांग्रेसको बाहिर ‘घोषणापत्र’ भित्र नाम किटेर तथानाम गाली पुराण :  अध्यक्ष ओली

मंगलबार, बैशाख १३ २०७९

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नेपाली कांग्रेसले जारी गरेको घोषणापत्रलाई ‘बकवास र गालीगलौज’ को दस्तावेज भएको टिप्पणी गरेका छन् । 

राजनीतिक विश्लेषण केही पनि नभएको र तथानाम गाली नै गाली भएकाले घोषणापत्रलाई राजनीतिक दस्तावेज भन्न नसकिने तर्क गरे । 

२३ औं मनमोहन अधिकारी स्मृति दिवसलाई मंगलबार बिहान सम्बोधन गर्दै ओलीले नामै किटेर आफूलाई गाली गरेको र उत्ताउलो विकास गरेको आरोप लगाएको बताए ।

‘नेपाली कांग्रेसले चुनावी घोषणापत्र भनेको त्यो राजनीतिक दस्तावेज होइन । जम्माजम्मी धारे हात लगाएको छ, एमालेलाई । ५ वर्ष त्यसै खेर गयो भनेको छ । रेल ल्याउनु उत्ताउलो विकास हो’, उनले भने, ‘यस्तै यस्तै बकवास र गालीगलौज घोषणापत्रमा दर्जनौँ ठाउँमा नाम किटेर तथानाम गाली गरेको छ । राजनीतिक विश्लेषण छैन । शब्द थुपारी के हुन्छ ?’

उनले खेस्रो लेखेर नीति नहुने पनि बताएका छन् ।अध्यक्ष ओलीले भने, ‘नेपाली काँग्रेसले घोषणापत्र भन्ने शीर्षक छ बाहिर । बाहिर शीर्षक, भित्र गाली पुराण भन्ने अहिलेसम्म सुनेको थिएन, भित्र गाली पुराण छ । यो तथानाम एमालेलाई गाली, धारे हात लाएर, सरापेको छ । नेपाली काँग्रेसले, नेपाली काँग्रेसका कार्यकर्ताहरुले सरकार बनाउला भन्ने कत्रो सपना देखेका थियौँ, नेकपा एमलेका कारणले हाम्रा सपनाहरु ध्वस्त भए । हाम्रो सपना ध्वस्त पार्ने त्यस्तो अपराधी हो नेकपा एमाले भन्ने लेख्छ चुनाव घोषणापत्रमा । कुनै गन्तव्य हुँदैन । उत्ताउलो विकास । एमालेले हिमालका चुचुरामा चुच्चे रेल कुदाउने गफ गर्छ रे । हाम्रा खोला खोल्सीहरुमा ठूला पानी जहाज चलाउने गफ हान्छ रे घोषणापत्रमा लेखेको । के भएको नेपाली काँग्रेसलाई ? 

सम्बोधनका क्रममा उनले कम्युनिस्ट आन्दोलनप्रति चिन्ता पनि व्यक्त गरे ।

दोस्रो महाधिवेशनमा पुष्पलालविरुद्ध घेराबन्दी भएको, मनमोहन अधिकारीलाई षड्यन्त्रपूर्वक पार्टीबाट हटाएको र आफूविरुद्ध पनि घेराबन्दी गएको बताए । 

उनले उम्मेदवारी मनोनयन र टिकट वितरणमा कहिँ कतै बेठीक पनि भएको भन्दै त्यसको समीक्षा चुनावपछि हुने बताए ।

ओलीले भने, ‘क्षणिक आबेग उत्तेजनामा आउनु हुँदैन । संयम र धैर्य नै एमालेको चरित्र हो । एकमन एकताका साथ एमालेका देशभरका कार्यकर्ता उभिनुपर्छ । अहिले मनोनयन दर्ताका सम्बन्धमा ,सबै ठाउँमा ठिकै भएको नहुन सक्छ, बेठीक पनि भएको होला । तर, अहिले आवेग उत्तेजनामा आउने होइन, अपराधिक गठबन्धनलाई हराउने हो ।’

तत्कालिक क्षति पुगे पनि एमालेलाई घाटा नभएको उनको भनाइ छ ।