काठमाडौं । काठमाडौँ महानगरपालिकाको प्रमुखका लागि ५६ र उपप्रमुख पदका लागि ३१ जनाको उम्मेदवारी परेको छ । प्रमुख पदका लागि उम्मेदवारी दिने ५६ मध्ये २१ ले दलका तर्फबाट उम्मेदवारी दिएका छन् भने बाँकी ३५ ले स्वतन्त्र उम्मेदवाररूपमा मनोनयन दर्ता गराएका छन्।
प्रमुख पदका लागि उम्मेदवारी दिनेमध्ये आठ महिला छन् ।
एमालेबाट काठमाडौं महानगरपालिकाको मेयरमा केशव स्थापित र उपमेयरमा सुनिता डंगोलले उम्मेदवारी दिएका छन् ।
स्थापित काठमाडौं महानगरको पूर्व मेयर तथा बागमती प्रदेशका पूर्वमन्त्री र पूर्वसांसद हुन् भने डंगोल पूर्व मिस नेवा हुन् ।
२०५४ सालमा भएको स्थानीय निकायको निर्वाचनमा स्थापित काठमाडौं महानगरको मेयरमा निर्वाचित भएका थिए । अघिल्लो कार्यकालमा निक्कै चर्चा कमाएका स्थापितलाई काठमाडौंको भावी मेयरका रुपमा हेरिएको छ भने युवा र वाक पटुतामा निक्कै बलियो मानिएकी सुनिता डंगोललाई भावी उपमेयरका रुपमा हेरिन थालिएको छ ।
यसैबीच एमालेका तर्फबाट काठमाडौं महानगरको प्रमुख पदका उम्मेदवार स्थापितले आफूले गठबन्धनको उम्मेदवार भन्दा दोब्बर मत ल्याउने बताएका छन् । उम्मेदवारी दर्ता गराएपछि पत्रकारहरूसँग कुराकानी गर्दै स्थापितले आफ्नो उम्मेदवारी दर्तासँगै गठबन्धनको गेम ओभर भएको बताएका थिए । यसैगरी उपमेयरकी उम्मेदवार डंगोलले काठमाडौं उपत्यकालाई सांस्कृतिक हिसावले माथि उठाउन पनि आफू जस्ता युवा विजयी बन्नु पर्ने बताउँदै । देशमा केही गर्नुपर्छ भन्ने युवाको साथ समर्थन र हौसलाले आफू र आफ्नो दल विजयी हुनेमा विश्वास व्यक्त गरिन् ।
गठबन्धनको तर्फबाट कांग्रेसकी सिर्जना सिंहले काठमाडौं महानगरपालिकाको मेयरमा उम्मेदवारी दर्ता गराइएकी छन् । उनी गणेशमान सिंहकी बुहारी तथा प्रकाशमान सिंहकी श्रीमती हुन् ।
उपप्रमुखमा उम्मेदारी दिने ३१ मध्ये १२ जनाले दलका तर्फबाट र १९ ले स्वतन्त्र उम्मेदवारका रूपमा मनोनयन दर्ता गरे ।
उम्मेदवारमध्ये १२ महिला छन्। आसन्न निर्वाचनका लागि १२ गते साँझसम्ममा दलका प्रतिनिधि र स्वतन्त्रतर्फका उम्मेदवारले मनोनयन दर्ता गराएका हुन् ।
मनोनयनको पहिलो दिन ११ गते प्रमुखका लागि १६ ले र उपप्रमुखका लागि १७ जनाले उम्मेदवारी दिएका थिए ।
काठमाडौँ जिल्लाका मुख्य निर्वाचन अधिकृत राजुकुमार खतिवडाका अनुसार काठमाडौँ जिल्लाका सबै पालिकामा जम्मा एक हजार २६२ जनाले मनोनयन पत्र दर्ता गराएका छन् । जसमा प्रमुखका लागि १२५ र उपप्रमुख पदका लागि ५७ जनाले, वडाध्यक्षका लागि ३३४, महिला सदस्यका लागि १९१, दलित महिला सदस्यका लागि १२९ जनाले र सदस्यका लागि ४२६ जनाले मनोनयनपत्र दर्ता गराए ।