काठमाडौ । उम्मेदवारी दर्तालाई लिएर असन्तुष्ट कार्यकर्ताले नेपाली कांग्रेसमा पार्टी छाड्ने क्रम जारी छ ।
रुपन्देहीको गैंडहवा गाउँपालिकामा उम्मेदवारी चयनप्रति तीव्र असन्तुष्टि जनाउँदै कांग्रेसका ३० जना कार्यकर्ताले पार्टी छाडेका छन् ।
उनीहरुले संयुक्त विज्ञप्ती जारी गर्दै पार्टी परित्याग गरेको घोषणा गरेका छन् । नेपाली कांग्रेस गैडहवा गाउँ कार्यसमितिका सभापति सत्यनारायण पथिकसहित ३० जना नेता कार्यकर्ताले पार्टी परित्याग गरेका हुन् ।
कांग्रेसले गैंडहवा गाउँपालिका अध्यक्षमा वसिउल्लाह मुसलमानलाई उम्मेदवार बनाएपछि कार्यकर्ता असन्तुष्ट बनेका हुन् । उनी अघिल्लो स्थानीय तहको निर्वाचनमा पराजित भएका थिए ।
एक पटक पराजित भैसकेको व्यक्तिलाई पुनः टिकट दिएको भन्दै कार्यकर्ताले पार्टीबाट राजीनामा दिएका हुन् ।
गैंडहवा गाउँपालिका सांसद भरत साहको निर्वाचन क्षेत्रमा पर्छ ।
यसैगरी झापाको शिवसत्ताक्षी नगरपालिका वडा नम्बर-४ मा पनि उम्मेदवारको विषयलाई लिएर पार्टी छोड्ने क्रम चलिरहेको छ ।
कांग्रेस महाधिवेशन प्रतिनिधि महेश्वर दुलाल, कांग्रेस छेत्रिय प्रतिनिधि तथा छेत्रिय सदस्य उमाकान्त उप्रेतीलगायतले पार्टी विधान अनुसार सर्वसम्मत छनोट भएका उम्मेदवारलाई टिकट नदिई जिल्ला कार्य समितिले बिधी, पद्दती र प्रक्रियाको धज्जी उडाउँदै गोजीका मान्छेलाई उम्मेदवार बनाएको भन्दै असन्तुष्टि व्यक्ति गर्दै पार्टी परित्यागको घोषणा गरेका छन् ।
शिवसत्ताक्षी-४ मा कांग्रेस वडा कार्य समितीले पुराना स्थानीय कार्यकर्ता महेश्वर दुलाललाई सर्बसम्मत वडा अध्यक्षका रुपमा उम्मेदवार बनाउने निर्णय गरेकोमा अन्तिम समयमा जिल्ला कार्य समितिले राकेश ताजपुरियालाई टिकट दिएको थियो ।

जिल्ला कार्यसमितिले बिधी, पद्दती र प्रक्रियाको धज्जी उडाउँदै यस्तो निर्णय गरेको भन्दै यहाँका दर्जनौं कांग्रेस कार्यकर्ताले पार्टी परित्यागको घोषणा गरेका छन् ।

झण्डै चार दशक बढी पार्टी राजनीतिमा जीवन विताएका दुलाल र उप्रेती स्थानीय स्तरमा निक्कै लोकप्रिय मानिन्छन् । उनीहरुको पार्टी परित्यागले गढ मानिएको साविक पाँचगाछीमा कांग्रेस पार्टीलाई ठूलो क्षति पुग्नसक्ने अनुमान गरिएको छ ।
यसैगरी कांग्रेस हेटौंडाका नेता रविन्द्र घिमिरेले पार्टी नेतृत्वले आफूलाई अपहेलित गरेको आरोप लगाएका छन् ।
हेटौंडा उपमहानगरपालिका वडा नम्बर २ बाट उनलाई उम्मेदवार बनाउने भएको थियो ।
आइतबार बेलुका नै पार्टी सभापति बुद्ध लामाले संघीय सभापतिलाई सोधेर सचिव भीमसेन महतको हस्ताक्षरमा पार्टीका नेताहरुको रोहवरमा टिकट दिएको उनको भनाइ छ । ‘गठबन्धनका सबै पार्टीका नेतालाई मिलाएर जाउ समेत भनिएको थियो, उम्मेदवारी दर्ता गर्न जाँदा अर्कैले दर्ता गरिसकेका रहेछन् ।’
उनले सोमबार हेटौंडामा पत्रकार सम्मेलन समेत गरेका थिए ।

एउटै वडामा दुईजनालाई वडा अध्यक्ष पदको टिकट दिनेलाई कारबाही हुनुपर्ने उनले माग गरेका छन् ।
उनले टिकट वितरणमा गल्ती गर्नेलाई कारबाही हुनुपर्ने माग गरेका छन् । पार्टीको आधिकारिक उम्मेदवार भन्दा आफूले एकमत भएपनि बढी ल्याएर देखाउने उनले दावी गरेका छन् ।