पोखरा । पोखरा महानगरपालिकाको टिकट पाएपछि गण्डकी प्रदेश सांसद कृष्ण थापाले पदबाट राजीनामा दिएका छन् ।
आज सभामुख नेत्रनाथ अधिकारीलाई उनले राजीनामापत्र बुझाएका हुन् । थापा २०७४ को चुनावमा कास्की २ (क) बाट निर्वाचित भएका थिए ।
२०५४ सालमा तत्कालीन पोखरा उपमहानगरपालिकाको मेयर बनेर काम गरिसकेका थापा २५ वर्षपछि पुनः मेयरमै दोहोरिन लागेका हुन् । केही आफ्ना योजनाहरू अधुरा रहेकोले त्यसलाई पूरा गर्न र पोखरा महानगरलाई समृद्ध बनाउन आफुले उम्मेद्वारी दिन लागेको बताएका छन् ।
एमालेले आजै दिउँसो १ बजे मनोनयन दर्ता गराउँदै छ । त्यसका लागि तयारी भइरहेको छ ।
यसअघि दीपक पौडेललाई पोखराको मेयर टिकट दिइएकोमा चौतर्फी आलोचना र विरोधपछि उनको टिकट खोसिएको हो ।
उपमेयरमा एमालेले मञ्जुदेवी गुरुङलाई उम्मेदवार बनाएको छ ।