काठमाडौं । ललिपुरमा नेकपा एकीकृत समाजवादी एक्लिएको छ । देशका धेरै स्थानीय तहमा सत्ता गठबन्धनबीच भागबण्डा भइरहेका बेला ललितपुरमा भने एकीकृत समाजवादी एक्लिएको हो ।
एकीकृत समाजवादीले जिल्लामै प्रतिनिधित्व शून्य हुनेगरी गठबन्धनका दुई दल नेपाली कांग्रेस र नेकपा (माओवादी केन्द्र) अघि बढेको भन्दै ललितपुरको सबै स्थानीय तहको सबै पदमा मनोनयन दर्ता गराउने तयारी गरेको छ ।
पार्टीको सहइन्चार्जसमेत रहेका केन्द्रीय सदस्य अमृत तिमल्सिनाले आज १० बजेसम्ममा उम्मेदवारहरूको टुङ्गो लगाइसक्ने बताए । बेलुकी ५ बजेसम्ममा ललितपुर महानगरपालिकासहित अन्य नगरपालिका र गाउँपालिकामा मनोनयन दर्ता गर्ने जानकारी दिए ।
ललितपुर महानगरपालिकाको प्रमुखमा हरिकृष्ण थापा र उपप्रमुखमा उषा बज्राचार्यलाई एकीकृत समाजवादीले आइतबार नै उम्मेदवार चयन गरिसकेको छ ।
तर, गठबन्धन दलको केन्द्रीय तहमा नेताहरूबीच समझदारी भएको अवस्थामा भने एक्लै अघि बढ्ने निर्णयबाट पछि हट्ने तिमल्सिनाले बताए ।
कांग्रेसका बाग्मती सभापति इन्द्र बानियाँ र माओवादी बाग्मती अध्यक्ष सरल सहयात्रीले आइतबार एकीकृत समाजवादीलाई अलग्याउँदै दुई दलबीच मात्र तालमेल हुनेगरी समझदारी गरेका थिए । त्यसपछि एकीकृत समाजवादी असन्तुष्ट बनेको हो ।