पोखरा । नेपाली कांग्रेसलाई पोखरा महानगरपालिकामा उम्मेदवार टुंग्याउनै सकस भएको छ । कांग्रेसले पोखरा महानगरपालिकाका ११ वटा वडामा मात्र उम्मेदवार टुंग्याएको छ । पोखरामा कुल ३३ वटा वडा रहेकामा २२ वटा वडामा उम्मेदवार टुंग्याउन बाँकी छ ।
तर, मनोनयन दर्ताको आज अन्तिम दिन हो । कांग्रेसलाई गठबन्धनका कारण उम्मेदवार टुंग्याउन सकस परेको छ ।
महानगरपालिकाका वडाहरूमा भागबण्डा नमिलेको र अन्य चार गाउँपालिकामा पनि कुरा नमिलेपछि कास्की कांग्रेसले केन्द्रबाट तालमेल भएको मेयर पदबाहेक पोखराका वडामा एक्लै चुनाव लड्ने निर्णय गरेको छ ।
कांग्रेसले पोखरा १ मा सीता गुरुङ, ४ मा देवकृष्ण पराजुली, ८ मा शारदा गिरी, ९ मा दीपेन्द्र मर्सानी, १० मा राजकुमार गुरुङलाई वडाध्यक्षको टिकट दिएको छ ।
पोखरा ११ मा प्रेम कर्माचार्य, १२ मा सन्तोष बाँस्तोला, १३ मा किरण बराल, १७ मा देवराज आचार्य, १८ मा शिव तिमिल्सिना र २० मा महेन्द्र अधिकारीलाई उम्मेदवार बनाइएको छ ।