काठमाडौँ l बैशाख ३० मा हुने स्थानीय तहको निर्वाचनमा जनकपुरधाम उपमहानगरपालिकाको मेयर पदका लागि पहिलो दिन ८ जनाले उम्मेदवारी दर्ता गराएका छन्।
आइतबार उम्मेदवारी मनोनयनको पहिलो दिन साँझ ५ बजेसम्म मेयर पदको लागि ८ जनालगायत कूल १ सय ४४ जनाले मनोनयन दर्ता गराएको प्रमुख निर्वाचन अधिकृत ब्रजेश प्याकुरेलले बताए।
प्याकुरेलका अनुसार पहिलो दिन साना दुई राजनीतिक दल र स्वतन्त्र गरी ८ जनाको मेयर पदमा उम्मेदवारी परेको र उपमेयर पदमा ३ जनाको उम्मेदवारी परेको हाे।
जनकपुरधामको मेयर पदमा पहिलो दिन जनमत पार्टीबाट अनिता देवी साह ,नेकपा मालेबाट गीता कुमारी मण्डल र स्वतन्त्र बाट श्याम किशोर मण्डल, लक्ष्मण साह, राम सेवक यादव, बिक्की यादव, अनिल पजियार र सुधिर कुमार महतोको उम्मेदवारी परेको प्रमुख निर्वाचन अधिकृत प्याकुरेलले जानकारी दिए।
उपमेयरमा जनमत पार्टीबाट संतोष कुमार साहले उम्मेदवारी दर्ता गराएका छन् भने स्वतन्त्र बाट कुमारी बनिता यादव र उमेश चौधरीले उम्मेदवारी दिएका छन्।
बाँकी १ सय ३३ जनाले वडाध्यक्ष र वडासदस्यमा मनोनयन दर्ता गराएको प्रमुख निर्वाचन अधिकृत प्याकुरेलले बताए।