शनिबार, कार्तिक २१ २०८३

शनिबार, कार्तिक २१ २०८३

ललितपुरमा भत्कियो गठबन्धन

सोमबार, बैशाख १२ २०७९

काठमाडौँ l स्थानीय तह निर्वाचनका लागि ललितपुर महानगरपालिकामा सत्तारुढ गठबन्धनबाट बाहिरिंदै नेकपा एकीकृत समाजवादीले मेयर र उप मेयरमा उम्मेदवारी घोषणा गरेको छ ।

नेकपा एकीकृत समाजवादीले ललितपुर महानगरपालिकाको मेयरमा हरिकृष्ण थापा र उपमेयरमा उषा बज्राचार्यलाई उम्मेदवार बनाउने निणर्य गरेको छ । थापा ललितपुर जिल्लाका अध्यक्ष हुन् भने बज्राचार्य उपाध्यक्ष हुन् । ‘जिल्लाका स्थानीय तह बाँडफाँटमा बेवास्ता गरियो । त्यसैले गठबन्धन ब्रेक गरेका छौं’ एकीकृत समाजवादीका जिल्ला सहइन्चार्ज अमृत तिमल्सिनाले भने, ‘हामीले गठबन्धबाट बाहिरिने निणर्य गरेका छौं । ललितपुर महानगरपालिकामा मेयर तथा उपमेयरमा उम्मेदवार चयन गरेका छौं ।’

यसअघि समाजवादीले महाकाल गाउँपालिका र महालक्ष्मी नगरपालिकाका प्रमुख पाउनु पर्ने माग गर्दै आएको थियो । ‘कांग्रेस र माओवादीले एकपक्षीय रुपमा सहमति गरेका छन् । त्यसले मात्रै नभएर जसपा र राजमोले पनि विरोध गरेका छन् ।’ समाजवादीले दाबी गर्दै आएको महालक्ष्मी नगरपालिका कांग्रेस र महाकालको प्रमुख माओवादीले लिने दुई दलबीच सहमति भएपछि समाजवादीले आफ्नो उम्मेदवारी दिने भएको हो ।