चितवन । नेपाली कांग्रेस चितवनका नेताले केन्द्रले चितवन कांग्रेसलाई २०७४ को स्थानीय निर्वाचन झैं यस पटक पनि कार्यकर्ताको चित्त दुखाएको बताएका छन् ।
सत्तागठबन्धनले यस पटक पनि महानगरको मेयरको उमेदवार बन्नबाटै चितवन कांग्रेसलाई बञ्चित गराएसँगै चितवन कांग्रेसमा विचलन नै आएको छ।
कुनै पनि हालतमा यसपटक भरतपुरमा कांग्रेस बाहेकलाई मेयर दिन नसक्ने जिल्लाका नेताहरुले बताउँदै आएका थिए । मेयरका लागि कांग्रेसमा २५ जनाले आकांक्षा देखाएका थिए । उनीहरुले प्रति व्यक्ति तीन हजार रुपैयाँ तिरेर पार्टीमा आफ्नो मनोनयन दर्ता पनि गरेका थिए । तर, चितवनका कांग्रेसीले यसपाली पनि महानगरको मेयरमा रेनु दाहाललाई नै भोट हाल्नुपर्ने अवस्था बनेको छ ।
अघिल्लो चुनावमा नेता कार्यकर्ताको विरोधबीच महानगरको मेयरमा नेकपा (माओवादी केन्द्र) की दाहाललाई कांग्रेसीले मत दिनुपरेको थियो ।
उक्त निर्वाचनमा चितवनको भरतपुर महानगरपालिकाको मेयर र उपमेयर पदमा माओवादी केन्द्र र कांग्रेसबीच चुनावी तालमेल भएको थियो। आगामी वैशाख ३० गते हुन लागेको निर्वाचनमा पनि यही घटनाक्रमले निरन्तरता पाउने भएको छ । फेरि पनि भरतपुरमा माओवादीले मेयर र कांग्रेसले उपमेयर लिएर चुनावमा होमिने भएको हो।
माओवादी कार्यकर्ताले मतपत्र च्यात्दा त्यसको साक्षी बसेको कांग्रेसले माओवादीसँगको गठबन्धन टुटेपछि माओवादीको विरोध गर्दै आएको थियो । पाँच वर्षपछि हुन लागेको अर्को चुनावमा पुनः रेनु दाहाललाई नै मत दिनुपर्ने अवस्थामा चितवन कांग्रेस पुगेको हो ।
आफुहरुलाई अन्याय भएको भन्दै शुक्रबार नेता कार्यकर्ताले जिल्ला सभापतिको कार्यकक्षमा तालाबन्दी गरे । गठबन्धनको केन्द्रीय निर्णयबाट असन्तुष्ट बनेका नेता कार्यकर्ताले शनिबार महानगरको मेयरमा बागी उमेदवारी दिने घोषणा गर्ने तयारी गरेका थिए । अन्तत केन्द्रबाट आएको सर्कुलरले असन्तुष्ट पक्षले घोषणा भने गर्न सकेन ।
कांग्रेस नेता एवं पूर्वसांसद जगन्नाथ पौडेलले कांग्रेसलाई बचाउने ऐतिहासिक क्षण आएको बताउँदै भने ‘म के कुरामा प्रस्ट छु भने हामी माओवादीसँग मिलेर जान सक्दैनौँ । हाम्रो जित्ने ठाउँ अरुलाई दिएर पार्टीलाई कमजोर बनाइँदै छ । ’
कांग्रेस महासमिति सदस्य मिना खरेलले कांग्रेस नेता कार्यकर्ताको जायज कुरा पार्टीले सम्बोधन गर्नुपर्ने बताइन् । उनले भनिन् ‘कांग्रेस कार्यकर्ताको एउटै चाहना छ रुख चिह्नमा मतदान गर्न पाउने । यो जायज कुरा हो । यसलाई पार्टीले सम्बोधन गर्नुपर्छ’ ।
कांग्रेसले केन्द्रमा भरतपुर माओवादीलाई दिने निर्णय गरे पनि मत हाल्ने स्थानीय नेता तथा कार्यकर्ता असन्तुष्ट देखिँदा माओवादीलाई केही असर पर्ने समेत देखिन्छ।
यस्तो थियो अघिल्लो नतिजा
२०७४ को निर्वाचनमा भरतपुर महानगरपालिकाको मेयरमा माओवादी केन्द्रकी रेनु दाहाल ४३ हजार १२७ मत ल्याएर विजयी भएकी थिइन्। उनका निकटतम प्रतिद्वन्द्वी एमालेका देवीप्रसाद ज्ञवालीले ४२ हजार ९२४ मत ल्याएका थिए। उपमेयरमा कांग्रेसबाट पार्वती शाह ४७ हजार १९७ मत ल्याएर विजयी भएकी थिइन् भने निकटतम प्रतिद्वन्द्वी एमालेकी दिव्या शर्माले ३९ हजार ५२५ मत ल्याएकी थिइन्। भरतपुरका कुल २७ वटा वडामध्ये माओवादी केन्द्रका पक्षमा ३ वटा वडा मात्रै छन्।
भरतपुरका १३, २५ र २६ नम्बरमा माओवादी केन्द्रले वडाध्यक्ष पदमा नतिजा हात पारेको थियो। अन्य २४ वटा वडामध्ये कांग्रेसले १२ र एमालेले १२ वटा वडामा अध्यक्ष पद जितेका थिए। कांग्रेसले १, ३, ६, ८, १४, १५, १७, १८, १९, २०, २१ र २७ नम्बर वडाका वडाध्यक्ष पद सुरक्षित गरेको थियो। एमालेले २, ४, ५, ७, ९, १०, ११, १२, १६,२२, २३ र २४ नम्बर वडाका वडाध्यक्ष पदमा जितेको थियो।
एमाले र राप्रपा तालमेल
भरतपुर महानगरपालिकामा एमालेले विजय सुवेदीलाई मेयरमा उठाउने भएको छ ।
यसैबीच भरतपुर नगरमा प्रमुख प्रतिपक्ष दल नेकपा एमाले र राप्रपा नेपालको साथ पाइसकेको छ भने राप्रपा (प्रजातान्त्रिक) सँगको तालमेलका लागि पनि छलफल जारी राखेको छ।
तत्कालीन राप्रपा प्रजातान्त्रिकमा प्रभावशाली भूमिकामा रहेका नेता विक्रम पाण्डे हाल राप्रपामा छन्। पछिल्लो समय कमल थापाको नेतृत्वमा राप्रपाबाट एउटा समूह बाहिरिएर राप्रपा नेपाल गठन गरेको छ। थापा नेतृत्वकै राप्रपा नेपालले स्थानीय तह निर्वाचनमा एमालेसँग तालमेल गर्ने भएको हो।
भरतपुरमा केन्द्रबाट लादिएको निर्णयले कांग्रेस चितवनमा देखिएको नेता कार्यकर्तामाथिको विचलनले आगामी निर्वाचनको नतिजा प्रचण्डपुत्री दाहालका लागि त्यति सहज नहुने देखिएको छ । गठबन्धनको मुख्य घटक दल कांग्रेस नै दुई ध्रुवमा विभाजित भइरहेका बेला माओवादीबाट भरतपुरको मेयरमा उठ्न लागेकी रेनु दाहाललाई यो निर्वाचन सहज नहुने आँकलन गरिएको छ ।
रुष्ट कांग्रेस कार्यकताृको मत र राप्रपाको मत पाएर एमालेले भरतपुरमा जित्न सक्ने अनुमान गर्न थालिएको छ । भरतपुर महानगरपालिकाको मेयरमा कांग्रेसबाटै आकांक्षी रहेका दिनेश कोइराला भरतपुरमा माओवादी केन्द्रले नेतृत्व पाउन र चुनावमा कांग्रेसको समर्थनका लागि षड्यन्त्र गरेको आरोप लगाउँदै आएका छन् ।