बिहिबार, साउन १४ २०८३

बिहिबार, साउन १४ २०८३

विराटनगरमा मेयरको टिकट नपाएपछि जसपा नेता उमेश यादवले त्यागे पार्टी

आइतबार, बैशाख ११ २०७९

काठमाडौँ l मोरङको विराटनगर महानगरपालिकामा मेयरको उम्मेदवारका लागि टिकट नपाएपछि जनता समाजवादी पार्टी (जसपा) का संघीय परिषद् सदस्य उमेश यादवले पार्टी परित्याग गरेका छन् ।

जसपाबाट मेयरमा आकांक्षा राखेका उनले शनिबार विराटनगरमा पत्रकार सम्मेलन आयोजना गरेर पार्टी छाडेको घोषणा गरेका हुन् । सत्तारुढ गठबन्धनबीचको भागबण्डामा विराटनगरको मेयर कांग्रेस र उपमेयर जसपाको भागमा परेको छ । स्थानीय तह निर्वाचनमा विराटनगरमा गठबन्धन नगरी जसपा एक्लै चुनावमा जानुपर्ने पक्षमा यादव थिए ।

तर, सत्ता गठबन्धनको तालमेलका क्रममा पार्टीको भागमा उपमेयर मात्रै परेपछि उनी असन्तुष्ट बनेका थिए । जसपा छाडेका उनले आफू स्वतन्त्र बस्ने बताएका छन् । २०७४ सालको स्थानीय तह निर्वाचनमा नेकपा (माओवादी केन्द्र) र तत्कालीन संघीय समाजवादी फोरमबीचको गठबन्धनबाट उनी मेयरका उम्मेदवार बनेका थिए । १४ हजार ९५८ मत ल्याउँदै उनी तेस्रो स्थानमा रहेका थिए ।

जसपा विराटनगर महानगर समितिले शुक्रबार गरेको उपमेयरका सम्भावित उम्मेदवारको सिफारिसमा यादवको पनि नाम छ । उनी र पार्टी अध्यक्ष उपेन्द्र यादवका छोरा अमरेन्द्र यादवसहित ८ जनाको नाम जसपाले उपमेयरको उम्मेदवारका रूपमा सिफारिस गरेको छ । पत्रकार सम्मेलनको आयोजना गरेर जसपा परित्यागको घोषणा गर्दै उमेश यादव ।