काठमाडौं । सत्तारुढ दल नेपाली कांग्रेस भित्र स्थानीय तहको निर्वाचनका लागि चुनावी तालमेललाई लिएर विवाद सुरु भएको छ । शीर्ष नेतृत्वले गरेको महानगर तथा उपमहानर लगायतको चुनावी तालमेलका विषयमा कार्यकर्ता मात्र नभएर केन्द्रका नेतामा समेत असन्तुष्टि देखिएको छ । केही महानगर तथा उपमहानगरमा तालमेलको विषयमा विद्रोह नै सुरु भएको छ ।
आगामी स्थानीय तहका लागि महानगरपालिका र उपमहानगरपालिकाको भागबण्डा टुंगो लगाएसँगै नेपाली कांग्रेस सहितका सत्तारुढ दलमा चर्को असन्तुष्टि देखिएसँगै भावी चुनावी परिणाममा समेत के कस्तो नतिजा आउला भन्नेमा चासो बढ्दै गएको छ ।
सुरुदेखि नै तालमेलको विरुद्धमा रहेका कांग्रेसका नेता डा. शेखर कोइरालाले खुलेरै गठबन्धनको विरोध गर्दै आएका छन् । उनले कांग्रेस कमजोर नभएका कारण कांग्रेसलाई कसैको बैशाखी जरुरी नभएको बताएका छन् ।
नेपाल विद्यार्थी संघको स्थापना दिवसका अवसरमा बुधबार आयोजित कार्यक्रममा नेता कोइरालाले जितका लागि कम्युनिष्ट साहरा नचाहिने तर्क गरे । कांग्रेस एक्लै गन्तव्यमा पुग्न सक्ने उनको भनाइ थियो ।
उनले पार्टीको निर्णय बिरुद्ध गठबन्धन भएको समेत गुनासो गरे । केन्द्रीय समितिको निर्णय विपरीत गठबन्धनको नाममा तालमेलको निर्णय भएको भन्दै उनले निर्वाचनपछि सबैकुराको लेखाजोखा गर्ने बताए ।
यसैगरी नेपाली कांग्रेसका पूर्वसभापति विमलेन्द्र निधिले सत्ता गठबन्धनले बुधबार गरेको तालमेलको निर्णयलाई लिएर विरोध जनाएका छन् । निधिले तालमेलको निर्णय कार्यकर्ताको भावना विपरित भएको र मधेश प्रदेश जनता समाजवादी पार्टीलाई जिम्मा लगाउने काम कांग्रेस केन्द्रले गरेको आरोप लगाए ।
‘सत्ता गठबन्धनको बैठकमा कांग्रेसले जुन किसिमको तालमेलको निर्णय गरेको छ । यो सरासर कांग्रेस केन्द्रीय समितिको निर्णयविरुद्ध छ,’ निधिले भने, ‘यो देशभरीका आम कार्यकर्ताको भावनाविपरित छ ।’
बुधवार सत्ता गठबन्धनको बैठकले ६ महानगर र ११ उपमहानगरको प्रमुख र उपप्रमुखको भागबण्डा टुंगो लगाएसँगै निधिले यसको विरोध गरेका हुन् । सत्ता गठबन्धनले मधेश प्रदेशको वीरगंज र जनकपुरको प्रमुख जनता समाजवादी पार्टीले पाउने सहमति गरेका छन् । यसअघि कांग्रेसले जनकपुरको मेयरमा दाबी गर्दै आएको थियो । यद्यपि जनकपुरमा जसपाले दावी नछाडेपछि कांग्रेसले उपमेयरमा चित्त बुझाउँदै सहमति गरेको हो ।
यो पुरै मधेश प्रदेश जसपालाई जिम्मा लगाउने काम भएको निधिको ठहर छ । ‘मधेश प्रदेश पुरै जसपालाई जिम्मा लगाउने काम भयो । यसले कांग्रेसलाई थप कमजोर बनाउँछ,’ उनले भने, ‘यो आत्मघाती तालमेल हो ।’ निधिले यस विषयमा मधेश र देशभरका कांग्रेस नेताहरूसँग छलफल गरी आफ्नो पक्षबाट थप निर्णय लिनेसमेत बताए ।
यसैगरी महामन्त्री गगनकुमार थापाले नेपाली कांग्रेस कम्युनिष्ट पार्टीहरुसँग डराएर जानुपर्ने स्थितिलाई अन्त्य गर्नुपर्ने बताए ।
उनले नेपालको राजनीतिमा कम्युनिष्टहरुको द्वेध चरित्र बारम्बार देखिएकोले अहिले कांग्रेसले त्यसलाई बिर्सिएर तालमेल गर्नु उचित नहुने बताए ।
महामन्त्री थापाले काँग्रेससँग रहेका ३२ लाख मतदाता भन्दा माथि बढाउन नसक्ने सोचाइ राखेर अघि बढ्ने हो भने हरेक पटक नेपाली काँग्रेस कम्युनिष्टहरुसँग डराएर बस्नुपर्ने बाध्यता सिर्जना हुने बताए । उनले यदी सबै क्षेत्रमा काँग्रेस हार्छ भन्ने सोचाइले अघि बढेमा बारम्बार कम्युनिष्ट पार्टीहरुले तर्साउने बताए ।
थापाले कुनैपनि ठाउँमा तालमेल गर्ने कि नगर्ने भेर निर्णय गर्ने हक र अधिकार महानगर र उपमहानगरको सम्बन्धमा केन्द्रिय समितिसँग भएको र बाँकी सबै ठाउँको अधिकार, जिल्ला र त्यो भन्दा तलका तहलाई अधिकार दिएको बताए ।
यसैबीच कांग्रेस नेताहरूबाटै गठबन्धन विरोधी आवाज आइरहेको बेला कांग्रेसका नेता एवं गृहमन्त्री बालकृष्ण खाणले गठबन्धनविरुद्ध लाग्नेहरूलाई पार्टीले कडा कारबाही गर्ने चेतावनी दिएका छन् । उनको यस्तो अभिव्यक्तिको कांग्रेस कार्यकर्ताले विरोध जनाउन थालेका छन् ।