काठमाडौँ l विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ) का महानिर्देशक डा. टेड्रोस अधानोम गेब्रेयसस तीनदिने औपचारिक भ्रमणका लागि आज नेपाल आउँदैछन् ।
नेपाल सरकारका स्वास्थ्य तथा जनसंख्या मन्त्री बिरोध खतिवडाको आमन्त्रणमा गेब्रेयेसोस आज अपराह्न १२ः२५ बजे नेपाल आउन लागेका हुन् ।
महानिर्देशक टेड्रोसका साथ डब्लूएचओको दक्षिण पूर्व एशिया क्षेत्रीय कार्यालयका क्षेत्रीय निर्देशक डा. पुनम खेत्रपाल र डब्लूएचओका अन्य अधिकारीहरू आउने परराष्ट्र मन्त्रालयले जनाएको छ ।
तीन दिने भ्रमणका क्रममा नेपालमा रहँदा उनले राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री शेरबहादुर देउवा र राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सेनासँग शिष्टाचार भेटघाट गर्ने कार्यक्रम रहेको छ । उनले स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री खतिवडा र परराष्ट्रमन्त्री नारायण खड्कासँग पनि भेटघाट गर्नेछन् ।
नेपालमा रहँदा टेड्रोसले नेपाल सरकारका उच्च अधिकारीसहित डब्लूएचओका नेपालस्थित प्रतिनिधि र संयुक्त राष्ट्रसङ्घका प्रतिनिधिसँग पनि छलफल गर्ने कार्यक्रम तय भएको छ । भ्रमणकै क्रममा उनले टाइफाइडविरुद्धको खोप अभियान र राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाको पनि अवलोकन गर्ने कार्यक्रम छ ।