काठमाडौँ। आसन्न स्थानीय तह निर्वाचनका लागि महानगर र उपमहानगरको सिट बाँडफाँटबारे मंगलबार राति अबेरसम्मको बैठकमा सहमति जुट्न नसकेपछि सत्ता गठबन्धनको बैठक आज पनि बस्दै छ ।
हिजो साँझ महानगरमा करिब सहमति जुटाएको गठबन्धन उपमहानगरमा भने एक ठाउँमा पुग्न सकेको छैन ।
उपमहानगरमा सहमति खोज्न आज बिहान ११ बजे बैठक बस्ने नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ को सचिवालयले जनाएको छ ।
यसअघि मंगलबार सत्ता गठबन्धनमा प्रमुख राजनीतिक दलहरुबीच महानगरको नेतृत्व बाँडफाँटमा सहमति जुटेको थियो । उक्त सहमति अनुसार कांग्रेसले काठमाडौं, ललितपुर र विराटनगर महानगरको नेतृत्व लिनेछ भने पोखरा एकीकृत समाजवादीले लिनेछ । वीरगञ्ज महानगरपालिका जनता समाजवादी पार्टीलाई दिइनेछ ।
गठबन्धनले ६ महानगरपालिकामा सिटबाँडफाँट करिबकरिब टुंग्याए पनि उपमहानगरपालिकामा भने विवाद कायमै छ ।
मंगलबार राति बालुवाटारमा बसेको गठबन्धनको बैठक निष्कर्षमा पुग्न नसकेपछि आज फेरि बैठक बस्न लागेकाे हाे ।
११ मध्ये ९ उपमहानगरमा सहमति जुटे पनि नेपालगन्ज र जनकपुर उपमहानगरपालिकामा सहमति जुटेकाे छैन ।
यसअघि जनकपुरमा जनता समाजवादी पार्टी र नेपालगन्जमा नेपाली कांग्रेसलाई मेयरकाे सिट दिने विषयमा छलफल भएकाे थियाे ।
तर, जसपाले नेपालगन्जमा पनि दाबी गरेपछि कांग्रेसले जनकपुरमा समेत दाबा ठाेकेकाे हाे ।
११ उपमहानगरमा कांग्रेसले ६ तथा माओवादीले दुई र एकीकृत समाजवादी र जसपाले एक-एक मेयर लिने गरी सहमतिमा प्रयास भए पनि जसपाले दुई उपमहानगर खाेजेकाे हाे ।
६ महानगरमध्ये कांग्रेसले तीन तथा माओवादी, एकीकृत समाजवादी र जसपाले एक-एक मेयर पाउने गरी सहमति जुटिसकेकाे बताइएकाे छ ।