पोखरा । सत्ता गठबन्धनलाई पोखरा महानगरपालिका पेचिलो बन्दै गएको छ ।
यहाँ नेपाली कांग्रेस र एकीकृत समाजवादीले दाबी नछाडेपछि सत्ता गठबन्धनमा सिटबाँडफाँट हुन सकेको छैन ।
कास्कीमा जिल्ला तहका कांग्रेसका नेताहरु कुनै हालतमा पोखरा मेयर छाड्न नसकिने अडानमा छन् भने एकीकृत समाजवादीले पनि आफूहरुले पोखरामा मेयर नपाए एमालेसँग मिल्न सक्ने चेतावनी दिइसकेको छ ।
कांग्रेस जिल्ला र पोखरा महानगर समितिका सचिवहरुले विज्ञप्ति नै जारी गरेर एकीकृत समाजवादीबाहेक दलसँग मात्रै गठबन्धन गर्ने बताएका छन् ।
कांग्रेसबाट पोखराको मेयरमा १८ जना र उपमेयरमा ११ जनाले आबेदन दिएका छन् । उनीहरुको सामान्य परिचयात्मक कार्यक्रम समेत भइसकेको छ भने आकांक्षीले पोखरा भिजन निर्माण गरिरहेका छन् । यही सन्दर्भमा कुरा गर्न कास्कीका नेताहरुलाई प्रधानमन्त्रीसमेत रहेका कांग्रेस सभापति शेरबहादुर देउवाले काठमाडौं बोलाएका छन् ।
प्रदेशका सभापति शुक्रराज शर्मा, जिल्ला सभापति किशोरदत्त बराल र पूर्वमन्त्री यज्ञबहादुर थापा जिल्लाको ब्रिफिङ गर्न अहिले काठमाडौं हिँडेका छन् । ‘उहाँ (सभापति)ले बोलाउनुभएको छ । हामीले अहिलेसम्म गरेका निर्णय र भएका प्रगतिबारे रिपोर्टिङ गर्छौं,’ सभापति बरालले भने, ‘किन बोलाउनुभयो भन्ने थाहा छैन । चुनावी विषय नै होला भनेर हामी तयार भएर आएका छौं ।’
उनले पोखराको मेयर कांग्रेसले नै पाउनुपर्ने अडानमा आफूहरु रहेको उनले बताए । अघिल्लो साता जिल्लाका झण्डै १ सय नेता कार्यकर्ताले केन्द्रीय पार्टी कार्यालय पुगेर देउवालाई भेटेका थिए । त्यतिबेला भने देउवाले महानगरका विषयमा कुनै निर्णय नभएको भन्दै जिल्ला फर्कन निर्देशन दिएका थिए । अहिले उनैले बोलाएपछि काठमाडौं हिँडेको बरालले बताए ।
यसैगरी सत्ताधारी अर्को दल नेकपा माओवादी केन्द्रले पोखराको मेयर र उपमेयरको सिफारिस गरेको छ । वैशाख ३० गते हुने चुनावका लागि माओवादीले मेयरमा ३ र उपमेयरमा ३ जनाको नाम प्रदेश कमिटीमा सिफारिस गरेको हो ।
मेयरका लागि यसअघि कांग्रेसलाई सघाएर उम्मेद्वारी फिर्ता लिएका विश्वप्रकाश लामिछाने, जिल्ला संयोजक बखानसिंह गुरुङ र महिलामा सीता खड्काको नाम सिफारिस गरिएको छ ।
यस्तै, उपमेयरका लागि यसअघि नै उपमेयरमा पराजीत गोमा ढकाल, प्रचण्डकी बुहारी सिर्जना त्रिपाठी र सूर्यप्रकाश तिवारीको नाम सिफारिस गरिएको महानगरका अध्यक्ष हरिनारायण गिरीले जानकारी दिए । त्रिपाठी अहिले अनेम संघ क्रान्तिकारीको केन्द्रीय सदस्य हुन् ।
‘गबठन्धनसँग छलफल भैरहको छ । यहाँ कसले टिकट पाउने टुंगो भएको छैन,’ इन्चार्ज दीपक कोइरालाले भने, ‘हामी एक्लै लड्नु परेपनि तयारी अवस्थामा रहेका हौं ।’ सत्तारुढ गठबन्धन कास्कीमा पनि हुने निर्णय यसअघि नै भैसकेको छ । तर गठबन्धन भित्र सहमति भने भएको छैन ।