काठमाडौं । सत्तारुढ गठबन्धन महानगर र उपमहानगरको भागबण्डा सहमतिनजिक पुगेको छ ।
बालुवाटारमा जारी शीर्ष नेतृत्वसहित गठबन्धनको निर्वाचन तयारी तथा अनुगमन समितिको बैठकमा तालमेलका लागि तयार पारिएको सहमतिको ड्राफ्टमाथि छलफल भइरहेको छ ।
गठबन्धनमा साझा चुनाव चिन्ह लिएर लड्ने सहमति पनि जुटेको बैठकमा सहभागी एक नेताले बताए । उनका अनुसार जुन पालिकामा जसको प्रमुखमा उम्मेदवारी हुने हो, त्यही दलको चुनाव चिह्नमा पाँचै दल सहभागी हुने निर्णय भएको छ ।
स्थानीय तहको निर्वाचन आउन २५ दिन बाँकी छ। निर्वाचन आयोगले वैशाख ११ र १२ गते मनोनयनका लागि छुट्याएको छ ।
मनोनयन दर्ता गर्न ६ दिनमात्र बाँकी रहँदा सत्ता गठबन्धनले महानगरपालिका र उपमहानगरपालिका सहितका स्थानीय तहमा उम्मेदवार त परै जाओस् सिटको भागवण्डा पनि मिलाउन सकेको छैन ।
सत्ता गठबन्धनमा रहेका दलबीचमात्र तालमेल गर्ने निर्णय भए पनि सिटको भागबण्डा नै टुंगिएको छैन ।
नेकपा माओवादी केन्द्रले एक महानगर र चार उपमहानगरपालिकामा दाबी गरेको छ। नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी, जसपा र जनमोर्चाले ६ वटा महानगर र ११ वटा उपमहानगरपालिमा आआफ्नै अडान कायम राखेका छन् ।
समितिका सदस्य तथा जनमोर्चा नेता हिमाल पुरीका अनुसार आज बस्ने बैठकबाट सिटको बाँडफाँटबारे निर्णय हुनसक्नेछ ।
माओवादी केन्द्रले भरतपुर महानगरपालिकासँगै धरान, जितपुर सिमरा, हेटौंडा र घोराही उपमहानगरपालिकामा दाबी गरेको छ । एकीकृत समाजवादीले पोखरा महानगरमा दाबी गरेको छ ।
बैठक आइतबार पनि बसेको थियो ।