काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले माओवादी नफुटेको थियो भने एमाले कब्जा गर्न सकिने बताएका छन् ।
बिहीवार ललितपुरमा आयोजित नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) को माओवादी ध्रुवीकरण तथा एकता कार्यक्रममा बोल्दै अध्यक्ष प्रचण्डले एकतापश्चात नेकपाको दोस्रो बैठकमा एमालेको ठूलो जमातले आफूलाई नेता मानेपछि पार्टी फुटाउने षड्यन्त्र सुरू भएको दाबी समेत गरे ।
बैठकमा ‘प्रचण्ड’ ले भने, ‘८/१० जना छाडेर एमालेका सबै नेता अबको नेता प्रचण्ड हो भन्नेमा पुगे त्यसपछि ठूलो षड्यन्त्र सुरू भयो । तपाईं नै हो नेता भन्न थाले मलाई’, ‘अहिले एमालेका नेता भन्छन्- केही समय छाडेको भए प्रचण्डले पार्टी खाइदिन्थ्यो नि! ’
उनले तत्कालीन नेकपामा रहेका पूर्व एमालेका ८० प्रतिशत नेताहरुले माओवादी जनआन्दोलनको ऐतिहासिकता स्वीकार्न थालेपछि पार्टीमा विद्रोह शुरु भएको बताए ।
प्रचण्डले अझै पनि नेकपा एमालेमा रहेका अधिकांश नेताहरु समाजवादी क्रान्तिका लागि तयार इमान्दार कम्युनिष्ट रहेको र उनीहरुको नेतृत्व पनि आफूले गर्नुपर्ने बताए । उनले एमालेको नेतृत्वले पार्टीका नेताहरुलाई प्रतिक्रान्तीकारी र प्रतिगमनका बन्दी बन्न बाध्य बनाएको आरोप पनि लगाए ।
उनले भने, ‘हामीले नेकपा एमालेसँग एकता गरेका थियौँ । के विश्वासमा गरेको थियो भने अब तत्काल भूमिगत जाने, जनयुद्ध गर्ने र विद्रोह गर्ने स्थिति छैन । त्यो अवस्थामा हिजो एउटा चरण त हामीभन्दा चर्को क्रान्तिकारी कुरा गर्ने, झापा विद्रोह । माले कालका थुप्रो नेता, कार्यकर्ता त्यहाँ छन्, अहिले पनि समाजवादतिरै जाने हो भन्ने पनि छन् भने हामी किन ध्रुविकृत नहुने भनेर गरियो । त्यो पनि अरुले गरेका भएन, तपाईहरुलाई प्रचण्डले के के गर्छ गर्छ भन्ने भएको थियो होला, तर जसरी एकताकेन्द्र बनाउँदा जोखिम उठाउन खोजिएको थियो । त्यो एकताबाट कम्युनिष्टहरुलाई सबैलाई एक ठाउँमा राखेर समाजवादतिर लानुपर्छ र सकिन्छ भन्ने विश्वासले हामीले नै अझ मेरो नै प्रश्तावमा काम अघि बढेको थियो ।’
उनले देशभित्र र बाहिर प्रतिगमनकारी तत्वले माओवादीको उपलब्धीलाई नष्ट गर्न खोजिरहेको पनि आरोप समेत लगाउँदै भने, ‘माओवादीका उपलब्धिलाई सुरक्षित गर्न सबै माओवादी एकत्रित भएर लड्नुपर्ने बेला आएको बताए । ‘प्रतिक्रियावादीहरुको रणनीति अहिले पनि माओावादीलाई घेरा हालेर सखाप पार्ने रहेको भन्दै त्यसलाई परास्त गर्न माओवादीले सबै माओवादीलाई एकजुट पार्ने, घेरा तोड्ने र प्रतिरोध गर्ने रणनीति बनाएर अघि बढ्नुपर्छ ।’ उनले भने ।
प्रचण्डले सबै माओवादीहरु एकतावद्ध भएर नै संविधानको रक्षा र प्रतिक्रियावादीहरुलाई परास्त गर्न सकिने बताए ।