पर्सा । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले नेता र काला व्यापारीहरुले घरमा नोट थन्क्याएका कारण देशमा आर्थिक संकट आएको बताएका छन् ।
राष्ट्रिय प्रजातन्त्र पार्टी पर्साले वीरगंजमा हिजो मंगलबार आयोजना गरेको आमसभामा बोल्दै उनले बैंकमा नोट नहुनुको कारण नेताहरु र काला व्यापारीहरुले घरमा थन्क्याएको आरोप लगाए ।
नेताहरुले कमिशन र भ्रष्ट्राचारबाट कमाएको पैसा बैंकमा राख्दा आम्दानीको स्रोत खुलाउनुपर्ने भएकाले घरमै थन्क्याएको उनको जिकिर थियो ।
लिङ्देनले आगामी निर्वाचनमा जनताले राप्रपालाई मत दिएमा घर–घरमा थन्किएका नोटलाई कागजमा परिणत गरिदिन आग्रह समेत गरे ।
अध्यक्ष लिङ्देनले आफ्नै जीवनकालमा देश बनेको हेर्नका लागि मतदाताहरुले पार्टी र नेता फेर्ने बेला आएको बताउँदै कांग्रेस, एमाले, माओवादी र मधेशवादी दललाई मत दिएर देश बन्नु भनेको ‘दुधका लागि साँढेको टाङमुनि बाल्टि थाप्नु’ जस्तै भएको टिप्पणी गरे ।
उनले देशका ठुला राजनीतिक पार्टीहरुले देशलाई बर्बादीको बिन्दुमा पु-याएको आरोप समेत लगाए ।