बझाङ । नेकपा एमालेका उपाध्यक्ष विष्णु पौडेलले बर्तमान देउवाको नेतृत्वमा रहेको गठबन्धन सरकार सिनो जस्तै गन्हाएको बताएका छन् ।
सोमबार एमाले जिल्ला कमिटी बझाङले चैनपुरमा आयोजना गरेको विशाल जनसभा तथा पार्टी प्रवेश कार्यक्रममा बोल्दै उनले भने, ‘देशमा गठबन्धन सरकार स्थापना भएको वर्ष दिन नपुग्दै सरकारमा रहेकाहरु कमिसन र आफन्तबादको जालमा फसेका छन् । उनीहरुलाई देश र जनताको कुनै चिन्ता चासो छैन । यो सरकार गन्हाएको छ । यसको दुर्गन्धले देशलाई असफलताको मार्गमा पुर्याएको छ ।’
एमालेको सरकारलाई अदालतको साहारा लिएर विस्थापित गरेर स्थापना भएको गठबन्धन सरकार बनेको बताउँदै नेता पौडेलले देउवा नेतृत्वको सरकार असफल भएको बताए । पौडेलले भने, ‘एमालेका अध्यक्ष केपी ओलीको नेतृत्वमा भएको सरकारलाई अदालतको साहारामा ढलाएका हुन् । अहिले देशलाई ध्वस्त बनाएका छन् । सुदुरपश्चिम प्रदेशबाट नै चुनाव जितेरस पाँचौ पटक प्रधानमन्त्री भएका देउवाले सुदुरपश्चिमलाई नै विभेद गरेका छन् ।’
केपी ओलीको नेतृत्वको सरकार हुँदा बझाङबाट तिब्बतलाई जोड्ने ताक्लाकोट सडकका लागि १ अर्व ४० करोड वजेट विनियोजन गरेको भएपनि अहिलेको देउवा सरकारले उक्त बजेटलाई नै रोक्का गरेर निर्माण कार्यलाई ठप्प पारेको नेता पौडेलले बताए । ‘विकासभन्दा पनि गठबन्धन भित्र पदलोभीहरुको मात्रै प्रवेश भएको छ । यसले जनताको हितमा काम गर्छ भन्ने कसैलाई लाग्छ भने त्यो भ्रम बाहेक अरु केही पनि होइन् ।’ उनले भने ।
अहिले एमालेलाई हराउने मात्रै गठबन्धनको मुख्य एजेण्डा भएका कारण विना एजेण्डा र विना भिजनका नेताहरुलाई चुनावबाट नै परास्त गर्नु पर्ने नेता पौडेलले जोड दिए ।