बिहिबार, साउन १४ २०८३

बिहिबार, साउन १४ २०८३

केन्द्रबाट निर्वाचनमा तालमेलको ‘मोडालिटी’ टुंग्याउँदै गठबन्धन

मंगलबार, चैत्र २९ २०७८

काठमाडौं । सत्तारुढ दल जिल्ला तथा पालिकाको गठबन्धनका विषयमा अलमल बनिरहेको बेला पाँच दलीय गठबन्धनका शीर्षसहित उच्चस्तरीय राजनीतिक संयन्त्र र निर्वाचन तयारी तथा अनुगमन समितिको बैठक आज बस्दै छ । 

प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा अपराह्न ४ बजे बैठक बस्ने भएको हो । जिल्लास्तरमा के कसरी र कुन मोडालिटीमा तालमेल गर्ने भन्ने विषयमा अलमल भएको छ । जिल्ला तथा पालिकामा दलहरुले गठबन्धन भित्रै पनि आफू बलियो भएको भन्दै दाबी नछाडेपछि सहमति हुन सकिरहेको छैन ।

बैठकले निर्वाचनमा तालमेलको ‘मोडालिटी’, उम्मेदवार मापदण्ड र प्रक्रियासहितको निर्णय गर्ने गठबन्धनले जनाएको छ ।

गठबन्धनका नेताहरूले सोमबार गठबन्धनले बनाउने उम्मेदवारहरूलाई विजयी बनाउन मतदाताहरूसँग मत मागेका छन् । गठबन्धनसहित निर्वाचनमा जान चाहनुको कारण पनि प्रष्ट पारेका छन् । 

यसअघि आइतबारसम्म चारपटक निर्वाचन तयारी तथा अनुगमन समितिले तालमेलको ‘मोडालिटी’बारे छलफल गरेको थियो । 
पालिका, जिल्ला र प्रदेशस्तरमा गठन गरेको गठबन्धनको संयन्त्रले पठाएको प्रतिवेदन र सुझावको आधारमा मोडालिटीबारे समितिले छलफल गरेको हो । 

हिजो र अस्ति मात्र पनि महोत्तरीका गठबन्धनका नेताहरूले आआफ्ना शीर्ष नेताहरूसँग छलफल गरेका थिए । नेपाली कांग्रेस महोत्तरीका नेताहरूले आइतबार सभापति शेरबहादुर देउवा र अन्य शीर्ष नेतासँग छलफल गरेर फर्किए लगत्तै माओवादी केन्द्रका नेताले पनि अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँग छलफल गरेर फर्किएका थिए । जिल्लास्थित नेताहरूले प्रचण्डसँग छलफल गर्दा गठबन्धनमा अडिग रहन निर्देशन भएको बुझिएको छ ।

नेताहरूले अध्यक्ष प्रचण्डलाई जिल्लामा पार्टीको अवस्था र सत्ताघटक गठबन्धन दलको विषयमा रिपोर्ट गरेका थिए । महोत्तरीका नेता तथा केन्द्रीय सदस्य रामकुमार शर्मा, भरत साह, राजु खडका, भवानी खडका, प्रकाश पोखरेल, स्थायी कमिटी सदस्य गिरिराजमणी पोखरेलसहित छलफलमा पुगेका थिए ।

यता गठबन्धनको विपक्षमा रहेका नेपाली कांग्रेसका नेताले सभापति शेरबहादुर देउवालाई भेटेर फर्किएपछि जिल्लामा नेता तथा कार्यकर्तालाई  गठबन्धनको पक्षमा उभिन आग्रह गरेका थिए। नेपाली कांग्रेसका जिल्ला नेता चिरिन्जिबी हमाल, नागेस्वर यादवलगायतका नेताले आइतबार शीर्ष नेतालाई भेटेर जिल्ला फर्किएका थिए ।

सत्ता घटक दलबीच समयमै मोडालिटीबारे प्रष्ट नहुँदा गठबन्धन भित्रका दलहरु अलमलमा परेका छन् ।