काठमाडौँ, कात्तिक ४ ।
संयुक्त राष्ट्रसङ्घीय खाद्य तथा कृषि सङ्गठन(एफएओ)का प्रतिनिधि डा सोमसाक पिपोप्पिन्योले नेपाल वातावरण परिवर्तनको जोखिमयुक्त राष्ट्र रहेको बताएका छन् । उनले नेपाल भूक्षय, हिउँपहिरो, बाढी, असिना, जङ्गल फँडानी तथा अन्य प्राकृतिक विपत्तिबाट अछुतो रहन नसक्ने मुलुक रहेको र सोबाट जोगिन मानिसले माटो र बिरुवाको संरक्षणमा जोड दिनुपर्ने बताएका हुन् ।
प्राकृतिक प्रकोपबाट जोगिन नदीनाला, सिमसार क्षेत्र, वनजङ्गलको फँडानीलगायत विनाश रोक्नु राष्ट्रिय दायित्व भएको उनले बताए । वातावरण परिवर्तनलाई मानिसले रोक्न सक्दैन तर परिवर्तित वातावरणलाई आत्मसात् गर्दै अघि बढ्नुपर्छ भन्दै उनले वातावरण परिवर्तन सँगसँगै कृषिको दिगो विकासका लागि कृषकलाई जनचेतना, नौलो प्रविधिको विकास एवम् उन्नत बीउबिजनको उत्पादनमा जोड दिनुपर्ने बताए । पिपोप्पिन्योले वातावरण परिवर्तनले सिमसार क्षेत्र, खोला तथा पोखरीमा पाइने माछा एवम् जीवजन्तुमा समेत परिवर्तन आउनसक्ने सङ्केत गर्दै बढ्दो जनसङ्ख्यालाई खाद्यान्न उत्पादन दर बढाउन एफएओले नेपालका अर्घाखाँची, कपिलवस्तु, सिरहा र उदयपुरमा १२० कृषक समूहमार्फत विभिन्न कार्यक्रम सञ्चालन गरिरहेको जानकारी दिए ।