आर्थिक संवाददाता
बुटवल, कात्तिक ४ ।
उपप्रधानमन्त्री कृष्णबहादुर महराले राष्ट्रिय उद्योगलाई प्रोत्साहन गर्न सरकार गम्भीर रहेको बताएका छन् । नेपाल राष्ट्रिय उद्योग व्यापार सङ्गठन, बुटवलले आयोजना गरेको राष्ट्रिय औद्योगिक, कृषि, पर्यटन प्रवद्र्धन प्रदर्शनी एवम् तिहार महोत्सव २०७३ को उद्घाटन गर्दै उनले संविधानले व्यवस्था गरेअनुसार आगामी १४ महिनाभित्र तीन तहको निर्वाचन गर्न सरकार जिम्मेवारीका साथ लागेको बताएका हुन् ।
महराले सरकारका प्राथमिकतामा स्थानीय निकायको संरचना तयार गरेर आगामी चैतसम्ममा स्थानीय तहको निर्वाचन गर्ने, आगामी १४ महिनाभित्रमा निर्वाचन सम्पन्न गरेर संविधानको कार्यान्वयन गर्ने र देशमा राजनीतिक स्थिरता कायम गर्नु रहेको स्पष्ट गरे । अहिलेको अर्थतन्त्र परनिर्भरतातर्फ जाने खतरा बढेको बताउँदै यसको मुख्य कारण हाम्रो व्यापार घाटाले भएकाले त्यसलाई कम गर्न र देशलाई आत्मनिर्भर बनाउन राष्ट्रिय उत्पादनलाई प्रोत्साहन गर्नुपर्ने बताए । ‘राष्ट्रिय उद्योगलाई प्रोत्साहन गर्न सरकार गम्भीर छ’, उनले भने । उनले सरकार र निजी क्षेत्रको सहकार्य्बिना समाजवादी अर्थतन्त्रको विकास सम्भव नभएको बताउँदै निजी क्षेत्रको प्रोत्साहनका लागि राष्ट्रिय उद्योगको प्रोत्साहन र संरक्षणमा सरकार गम्भीर रहेको स्पष्ट गरे । कार्यक्रममा नेकपा (माओवादी केन्द्र)का नेता हकिउल्लाह खाँले नेपाल उत्तर र दक्षिणका दुई ठूला विकसित राष्ट्रबाट फाइदा लिन सक्नुपर्नेमा हाम्रो अदूरदर्शी सोचका कारण सम्भव नभएको बताए ।