शनिबार, कार्तिक २१ २०८३

शनिबार, कार्तिक २१ २०८३

सरकारको निर्णय: बूढी गण्डकी चिनियाँ कम्पनीलाई नदिने

शुक्रबार, चैत्र २५ २०७८

काठमाडौँ l सरकारले बूढी गण्डकी जलविद्युत् आयोजना चिनियाँ कम्पनीलाई नदिने निर्णय गरेको छ । बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले बूढी गण्डकी आयोजनाबाट चाइना गेजुवा वाटर एन्ड पावर ग्रुपलाई बिदा गर्ने र स्वदेशी लगानीमै बनाउने ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयको प्रस्ताव सदर गर्ने निर्णय गरेको हो ।

चिनियाँ कम्पनीसँग वार्ता गरेर परियोजना अघि बढाउने गरी यसअघि भएको मन्त्रिपरिषद्को निर्णयअनुसार काम हुन नसकेकाले स्वदेशी लगानीमा नै अघि बढाउने गरी निर्णय भएको प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय उच्च स्रोतले जनाएको छ ।

ऊर्जा मन्त्री पम्फा भुसालले बूढी गण्डकी निर्माणको लागि छलफल गरिरहेको चाइना गेजुवा वाटर एन्ड पावर ग्रुपलाई आयोजना अघि बढाउनेबारे निर्णय लिन मङ्सिरमा नै भनेकी थिइन् । तर, गेजुवाले चासो नदिएपछि मन्त्रालयले आयोजनामा चिनियाँ कम्पनीलाई नकुर्ने निष्कर्ष निकाल्दै मन्त्रिपरिषदमा प्रस्ताव लगेको थियो ।