बिहिबार, साउन १४ २०८३

बिहिबार, साउन १४ २०८३

नवनियुक्त मन्त्री गोविन्द बन्दीद्वारा पद तथा गोपनीयताको शपथ ग्रहण

शुक्रबार, चैत्र २५ २०७८

काठमाडौँ। अधिवक्ता गोविन्द बन्दीले कानुन, न्याय तथा संसदीय मामिलामन्त्री पदको शपथ लिएका छन् । राष्ट्रपति विद्यादेवी भण्डारीले बिहीबार शीतलनिवासमा आयोजित समारोहमा बन्दीलाई पद तथा गोपनीयताको शपथ गराएकी हुन् । त्यसक्रममा प्रधानमन्त्री शेरबहादुर देउवालगायत उच्चपदस्थ व्यक्ति उपस्थित थिए । संसद् बाहिरबाट मन्त्री बनाइएका बन्दीले आजै कार्यभार सम्हाल्ने छन् ।

केपी शर्मा ओलीले दोश्रो पटक गैरसांसदलाई मन्त्रीमा नियुक्त गरेपछि सर्वोच्च अदालतमा रिट पर्‍यो । नेकपा माओवादी केन्द्र छाडेर एमालेमा प्रवेश गरेपछि मन्त्री भएका सात जनाको पद सर्वोच्च अदालतको आदेशसँगै गयो ।

त्यतिबेला गैरसांसदलाई मन्त्री बनाउनु हुँदैन भन्ने पक्षमा उभिएका थिए अधिवक्ता गोविन्द बन्दी । प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराको एकल इजलासले गैर सांसदको हैसियतमा मन्त्री भएका सबैलाई काम नगर्नु नगराउनु भनेर २०७८ जेठ ६ गते अन्तरिम आदेश दिएका थिए ।

नेकपा विभाजनसँगै माओवादी छाडेर एमालेमा प्रवेश गरेका गृहमन्त्री रामबहादुर थापा, ऊर्जा, जलस्रोत र सिँचाइमन्त्री टोपबहादुर रायमाझी, उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्ट, सहरी विकासमन्त्री मन्त्री प्रभु साह, खानेपानी मन्त्री मणिचन्द्र थापा, श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री गौरीशंकर चौधरी र युवा तथा खेलकुदमन्त्री दावा तामाङ मन्त्रीबाट हटेका थिए ।

उनीहरुलाई दोहोर्‍याएर गरिएको नियुक्ति र शपथग्रहण संविधानविपरीत भन्दै बदरको मागसहित रिट परेको थियो । गैरसांसदलाई बढीमा ६ महिनासम्म मन्त्री बनाउन पाइने संवैधानिक व्यवस्था छ । तर उनीहरु दोश्रो पटक मन्त्रीमा नियुक्त भएका थिए । तर त्यसको साढे १० महिनापछि प्रधानमन्त्री शेरबहादुर देउवाले उनै बन्दीलाई मन्त्रीमा नियुक्त गरेका छन् । बन्दी सांसद होइनन् ।