बिहिबार, साउन १४ २०८३

बिहिबार, साउन १४ २०८३

प्रकाण्ड बहादुर भवनमा

शुक्रबार, चैत्र २५ २०७८

काठमाडौँ। नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीले स्थानीय तह निर्वाचनमा भाग लिन पाउने वातावरण बनाई दिन निर्वाचन आयोगलाई आग्रह गरेको छ ।

नेकपाका प्रवक्ता खड्गबहादुर विश्वकर्मा ‘प्रकाण्ड’ सहितको टोलीले विहीबार आयोगका पदाधिकारीलाई भेटेर निर्वाचनमा भाग लिने वातावरण बनाई दिन आग्रह गरेको हो । प्रकाण्डले आफ्नो पार्टीलाई निर्वाचनमा भाग लिनका लागि मतदाता नामावलीमा नेता-कार्यकर्ता नै नरहेकाले नामावलीमा समावेश हुने अवसर मागेको छ । त्यस्तै दल दर्ताका लागि पनि प्रकाण्डले समय मागेका छन् ।

आफ्नो पार्टीका नेता कार्यकर्ता जेलमा रहेकाले उनीहरू पनि रिहा भएर निर्वाचन प्रक्रियामा भाग लिन पाउनु पर्ने विप्लव नेतृत्वको नेकपाको माग रहेको छ । निर्वाचन आयोगका आयुक्त रामप्रसाद भण्डारीले भने स्थानीय तह निर्वाचनको कार्यतालिका अघि बढिसकेको अवस्थामा दल दर्ता, मतदाता नामावलीजस्ता विषय कानूनी र व्यवहारिक रूपमै टुंगिसकेको जानकारी गराएका थिए ।

बन्दी रिहाइको विषय भने आयोगको नभइ सरकारको कुरा भएको उनको भनाइ छ । प्रमुख आयुक्त दिनेश थपलियासँग प्रकाण्डले अलग्गै छलफलसमेत गरेका छन् । दल दर्ताको समय आयोगले दिएका बेला विप्लव नेतृत्वको नेकपा आयोगमा गएको थिएन । चुनावमा भाग लिने वा नलिने भन्ने विवादका कारण सो पार्टीको दल दर्ता भएको छैन ।