शनिबार, कार्तिक २१ २०८३

शनिबार, कार्तिक २१ २०८३

निलम्बित प्रधानन्यायाधीश जबराको विभूषण रोक्ने निर्णय

बिहिबार, चैत्र २४ २०७८

काठमाडौँ। सरकारले निलम्बित प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरासहित पाँच न्यायाधीशलाई दिने भनिएको पदक निलम्बित प्रधानन्यायाधीशको हकमा रोक्ने भएको छ । आगामी १ वैशाखमा विभूषण प्रदान गर्न लागिएकोमा जबरालाई भने समारोहमै नबोलाइने गृह मन्त्रालयले जनाएको छ ।

जबरालाई तेस्रो ठूलो विभूषण महाउज्ज्वल राष्ट्रदीप दिने निर्णय गत असोजमा सरकारले गरेको थियो । संविधान दिवसमा घोषणा भएका विभूषण १ वैशाखमा प्रदान गरिने प्रचलन छ । अन्यको हकमा १ वैशाखमा विभूषणका लागि बोलाइएको छ, तर जबरालाई भने नबोलाइएको गृह मन्त्रालयका एक अधिकारीले जानकारी दिए ।

‘उहाँको विभूषण बनेर त आइसकेको छ,’ गृहका ती अधिकारीले भने, ‘तर, भ्रष्टाचारको अभियोगमा निलम्बनमा परेका व्यक्तिलाई त्यो विषय टुंगो नलागेसम्म नदिनु ठीक हो भनेर स्थगन गर्न लागेका छौँ ।’ सोमबार गृहले विभूषण लिनका लागि सूचना जारी गरेको थियो ।

जुन सूचीमा जबराको समेत नाम छ । बुधबार यस विषयमा गृह मन्त्रालयमा छलफल भएको थियो, जसमा उनीमाथिको महाभियोगको टुंगो लागेपछि मात्र विभूषण दिने वा रद्द गर्ने निर्णय गरिने र तत्कालका लागि स्थगन गर्ने निर्णय भएको हो । गृहले विभूषणअन्तर्गत राष्ट्रपतिबाट प्रदान गरिने मानपदवी लिनका लागि २८ चैतभित्र पास लिन सूचना जारी गरेको छ । अलंकार र पदक भने मन्त्रालयले आफै वितरण गर्दछ ।

पदको दुरुपयोग गरेको आरोपमा गत १ फागुनमा जबराविरुद्ध महाभियोग प्रस्ताव दर्ता गरेपछि उनी निलम्बनमा परेका थिए । आगामी मंसिरमा अवकाश पाउन लागेका जबरामाथि छानबिन गर्न सिफारिस समिति समेत बनिसकेको छ । तर, समितिको बैठक भने बस्न सकेको छैन । विभूषण दिने निणर्य गरेका व्यक्तिमाथि फौजदारी अभियोग लागेमा त्यस्तो विभूषण रद्द गर्न सकिने विभूषण नियमावलीमा प्रावधान छ ।