शनिबार, कार्तिक २१ २०८३

शनिबार, कार्तिक २१ २०८३

चितवनमा माओवादीलाई कमजोर बनाउने चलखेल भइरहेको छ

बिहिबार, चैत्र २४ २०७८

काठमाडौँ l नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले चितवनमा माओवादीलाई कमजोर पार्ने षड्यन्त्र भइरहेको बताएका छन् । उनले माओवादीलाई कम्जोर बनाएर प्रचण्डलाई हराउन सकिन्छ कि भनेर देशीविदेशी शक्ति मिलेर षडयन्त्रमा लागेको बताए ।

बुधबार चितवनमा आयोजित पार्टी प्रवेश कार्यक्रममा उनले देशभित्रका र बाहिरका पनि केही शक्ति चितवन जिल्लामा माओवादीलाई कमजोर पार्ने र प्रचण्डलाई षड्यन्त्रमा लागेको बताएका हुन् । ‘एकथरि प्रतिक्रियावादीको ध्यान चितवन जिल्लामा माओवादीलाई के गरी कमजोर पार्न सकिन्छ भन्नेमा छ । चितवन जिल्लामा प्रचण्डलाई कसरी हराउने भन्नेमा छ’ उनले भने ।

माओवादीलाई कमजोर पारे मात्र परिवर्तनका एजेण्डा कमजोर हुने भन्दै केही शक्ति माओवादीविरुद्ध लागेको प्रचण्डको दावी छ । चितवनमा माओवादीले भौतिक पूर्वाधार, शिक्षा, स्वास्थ्यलगायतका क्षेत्रमा राम्रो काम गरेको प्रचण्डले दावी गरे ।

‘चितवनमा भौतिक पूर्वाधार, शिक्षा, स्वास्थ्य, रोजगारी, नदी तटबन्धदेखि तमाम विकासका कामलाई अग्रगति दिने काम गर्दा पनि प्रतिक्रियावादीले किन षड्यन्त्र गरिरहेका छन्’ उनले प्रश्न गरे, ‘चितवनको विकास र समृद्धिको काममा लाग्नु गल्ती हो त ?’ प्रचण्डले चितवनलाई विकास, शान्ति र परिवर्तनको मोडल जिल्ला बनाउने बताए ।

चितवनको भरतपुरमा आयोजित अर्को लालपूर्जा वितरण कार्यक्रममा भने प्रचण्डले आफू भरतपुर महानगरपालिका मेयर रेनु दाहाल प्रचण्डको मात्रै छोरी नभएको बताए । उनले २०७४ सालमा रेनु आउँदा सबैले प्रचण्डको छोरी आइ भन्ने गरेको बताए ।

‘रेनुको आफ्नै त्याग, तपस्या थियोे । रोल्पा रुकुमका जिल्लादेखि भारतका विभिन्न सहरमा भूमिगत रुपमा काम गरेका आफ्नै अनुभव थिए’ प्रचण्डले भने, ‘मलाई खुसी छ । प्रचण्डको छोरी होइन रनुको बुवा प्रचण्ड भएको छ । महिलाहरुले चाहे भने धेरै गर्न सक्छन भन्ने पुष्टी भएको छ ।’ महिलाले आट गरेमा गर्न सक्छन भन्ने भूमी मन्त्री सशी श्रेष्ठदेखि उर्जा मन्त्री पम्फा भुसालले पुष्टी गरेको प्रचण्डले दाबी गरे ।

‘महिलाले अग्रसरता लिँदा इमान्दारीता, लगसिलता सुशासन तुलनात्मक रुपमा बढी देखियो । त्यहीँ भएर बढी भन्दा बढी पालिका मेयर उपमेयर बनाउन सोचेको छु’ प्रचण्डले भने, ‘एक पटक मलाई इच्छा महिलालाई अलि बढी नै जिम्मेवारी दिएर हेरौं न भन्ने छ।’