काठमाडौँ l एमाले अध्यक्ष केपी शर्मा ओलीले वर्तमान सरकार रहिरहेमा देश बर्बादीतिर धकेलिने बताएका छन्।
नेपाल राष्ट्रिय उद्योग व्यवसाय महासंघको दोस्रो राष्ट्रिय महाधिवेशनलाई बुधबार सम्बोधन गर्दै अध्यक्ष ओलीले अहिले देशमा लगानीको कुनै सम्भावना नरहेको बताए। उनले बैंकसँग पनि लगानीका लागि दिने पैसा नभएकाले देश संकटमा रहेको बताए।
उनले भने, ‘खल्तीमा कसैको पैसा हुँदैन। बैंक त्यसैकारण खोलेका हुन्। कुनै पनि नयाँ उद्योग, व्यवसाय सुरु गर्दा बैंकबाट लोन लिनुपर्छ। दिनुपर्छ बैंकले। नयाँ लगानीका लागि कुनै सम्भावना छैन यतिखेर किनभने बैंक पैसा दिन सक्दैन। बैंक पैसा दिन सक्ने अवस्थामा छैन। यो सरकार तुरुन्तै, तुरुन्तै, तुरुन्तै ढलेन भने जति दिन रहन्छ त्यति बढी देशलाई बर्बादीतिर धकेल्छ।’
अध्यक्ष ओलीले गठबन्धन सरकार कुहिएर झर्ने बताए। उनले सरकार ढाल्न आफूहरूले कोसिस नगर्ने स्पष्ट पारे। एमालेले सरकारमा नभई चुनावमा ध्यान दिइरहेको उनको भनाइ छ।
उनले भने, ‘अहिलेको यो गठबन्धन कुहिसकेको छ तर कुहिएको फल पनि कुहियो भन्नेबित्तिकै खत्रक्क झर्दैन। त्यो झर्नलाई मज्जाले कुहिसक्नुपर्छ। यो कुहिँदै छ। यो झर्ने बेलातिर जाँदै छ। यो झर्छ। झर्ने समय हामीले पर्खिनुपर्छ। कसैले पनि मान्छे मर्नै लागेको, बाँच्दै, बाँच्दैन त्यो भने पनि त्यसलाई प्वाक्क हिर्काएर त्यतिबेरै मा¥यो भने त्यसलाई ज्यान मुद्दा उसैगरी लाग्छ। यो सरकार ढाल्न त हामी कोसिसै गर्दैनौँ। यो ढालेको बात पनि नलागोस् क्या! यो आफैँ झरोस्। कुहिएर फतक्क झरोस्। त्यसो भएर हामी अहिले सरकारबारे कतै ध्यान दिइराखेका छैनौँ। चुनावमा ध्यान दिइराखेका छौँ।’
अध्यक्ष ओलीले स्थानीय तह निर्वाचनसम्म गतिका साथ पार्टी काममा खट्न नेता, कार्यकर्तालाई निर्देशनसमेत दिए।