काठमाडौं । निर्वाचन आयोगले स्थानीय तह निर्वाचनको आचारसंहिता कार्यान्वयनका लागि ६० बुँदे प्रतिबद्धता गरेको जनाएको छ ।
आयोगले राजनीतिक दलहरूलाई आचारसंहिता कार्यान्वयनका लागि ६० बुँदामा प्रतिबद्धता मागेको हो ।
मंगलबार निर्वाचन आयोगले ७९ दलहरूसँग निर्वाचन आचारसंहिताको विषयमा छलफल गरेको थियो । छलफलपछि आयोगले दलहरूलाई ६०बुँदे आचारसंहिता पालना गर्न भन्दै निर्देशन समेत दिएको हो ।
आयोगले वैशाख ३० को स्थानीय तह निर्वाचन प्रयोजनका लागि दर्ता भएका दलहरुले आयोगमा उपस्थित भई आचारसंहिता कार्यान्वयनमा प्रतिबद्धता व्यक्त गरेको दाबी गरेको छ ।
तर, नेकपा एमालेसहितका केही दलले भने प्रतिबद्धतामा हस्ताक्षर गरेका छैनन् । एमालेले निर्वाचन आचारसंहितामा हस्ताक्षर गर्ने वातावरण नै नपाएको बताएको छ । ‘होहल्ला भएपछि हस्ताक्षर गर्ने वातावरण नै भएन । त्यसपछि हामी हस्ताक्षर नगरी बाहिरियौँ,’ एमाले कानुन विभाग प्रमुख रमेश बडालले भने । छलफलमा सहभागी हुन बडाल र एमाले निर्वाचन विभाग उपप्रमुख निरज आचार्य आयोगको कार्यालय पुगेका थिए ।






