उदयपुर । उदयपुरको बेलका नगरपालिकामा ट्युसन (अतिरिक्त कक्षा) पढ्न विद्यालय जाने क्रममा एक छात्राको हत्या भएको छ ।
बेलका नगरपालिका ३ उदयपुरस्थित कोशी जनता माध्यमिक विद्यालयमा अध्ययनरत कविता सुनुवारको हत्या भएको थियो ।
आज बिहान मृत फेला परेकी १५ वर्षीया छात्रा सुनुवारको हत्या भएको भन्दै श्री कोशी जनता माविले भर्त्सना गरेको छ ।
१० कक्षामा अध्ययनरत् सुनुवार आज बिहान ट्युसन (अतिरिक्त कक्षा) पढ्न घरबाट विद्यालय जाने क्रममा विद्यालय नपुग्दै सोही नगरपालिकाको यसोदा खोलामा हत्या भएको अवस्था फेला परेकी थिइन् ।
अतिरिक्त कक्षा पढ्न घरबाट आउने क्रममा उनको हत्या भएको भन्दै विद्यालयले सुरक्षा संवेदनशीलतामाथि प्रश्न उठाएको छ ।
विद्यालय व्यवस्थापन समिति अध्यक्ष गणेश बस्नेत र प्रधानाध्यापक सूर्यनारायण साहले जारी गरेको विज्ञप्तिमा कविताको हत्यारालाई चाँडोभन्दा चाँडो पहिचान गरी कारबाहीको दायरामा ल्याउन माग गरिएको छ ।
