काठमाडौं । सत्तारुढ पाँच दलीय गठबन्धनले नेपाली कांग्रेसका नेता रामचन्द्र पौडेलको नेतृत्वमा निर्वाचन तयारी तथा अनुगमन समिति गठन गरेको छ ।
बालुवाटारस्थित प्रधानमन्त्रीको सरकारी निवासमा बसेको बैठकले नेता पौडेलको नेतृत्वमा पाँच दलबाट प्रतिनिधिहरू रहने गरी समिति गठन भएको जनाइएको छ ।
समितिको सदस्यहरूमा कांग्रेसबाट महामन्त्री गगन थापा र सञ्चारमन्त्री ज्ञानेन्द्र कार्की सदस्य हुनुहुन्छ भने माओवादीबाट नेता वर्षमान पुन र देवप्रसाद गुरुङ, एकीकृत समाजवादीबाट वेदुराम भुसाल र विजय पौडेल, जसपाबाट अशोक राई र रेणु यादव र राष्ट्रिय जनमोर्चाबाट हिमाल पुरी सदस्य छन् ।
आगामी वैशाख ३० गते हुने स्थानीय तह निर्वाचनमा तालमेलको ढाँचाबारे आजको बैठकमा छलफल हुने बताइएको छ । यसअघि १७ चैतमा बसेको गठबन्धनको बैठकले स्थानीय तहको निर्वाचनमा तालमेलको सहमति गरेको थियो ।
साथै देशको अर्थतन्त्रको अवस्थालाई ध्यान दिँदै सरकारको तर्फबाट राजनीतिक दल, अर्थविद्, योजनाविद् र सरोकारवाला पक्षसँग एक वृहत् अन्तरक्रियाको आयोजना गर्ने र सुझावको आधारमा ठोस कदम चाल्ने बैठकले निर्णय गरेको छ ।
यसैगरी बैठकले प्रधानमन्त्री शेरबहादुर देउवाको भारत भ्रमण सफल भएको निष्कर्ष निकालेको छ ।
बैठकले प्रधानमन्त्री देउवाको भारत भ्रमण सफल भएको निष्कर्ष निकालेको हो । बैठकमा आफ्नो भारत भ्रमणको विषयमा प्रधानमन्त्री देउवाले ब्रिफिङ पनि गरेका थिए ।