शनिबार, कार्तिक २१ २०८३

शनिबार, कार्तिक २१ २०८३

राजनीतिक दलहरूसँग छलफल गर्दै निर्वाचन आयोग, आचारसंहितामा हस्ताक्षर गराउने तयारी

मंगलबार, चैत्र २२ २०७८

काठमाडौं । निर्वाचन आयोगले आज स्थानीय तहको चुनावमा भाग लिने राजनीतिक दलहरूसँग छलफल गर्दैछ । बिहान साढे ११ बजे छलफल हुने निर्वाचन आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले जानकारी दिए । उनका अनुसार स्थानीय निर्वाचनमा भाग लिने ७९ वटा दलहरूलाई छलफलका लागि बोलाइएको छ ।

०७४ को निर्वाचनमा आयोगले राजनीतिक दलसँग निर्वाचन आचारसंहिता परिपालना गर्ने गराउने विषयमा प्रतिबद्धता लिएको थियो । यसपटक ३० वैशाखमा स्थानीय तहको निर्वाचन हुँदैछ । तर, आचारसंहिता भने लागू भइसकेको छैन ।

उम्मेदवार बन्नुअघि बहालवाला जनप्रतिनिधिले राजीनामा दिनुपर्ने भनी निर्वाचन आयोगले जारी गरेको आचारसंहिताविरुद्धको रिट परेको छ । यो विषय सर्वोच्च अदालतमा विचाराधीन रहेको छ । 

यद्यपि, आयोगले मुलुकका विभिन्न स्थानमा केही दिनअघि गरेको आचारसंहिता पालना र प्रभावकारी कार्यान्वयन विषयक कार्यक्रममा आचारसंहिताको पालनाका सम्बन्धमा कठोर हुन सुझाव दिइएको थियो ।

सुझावका आधारमा प्रतिबद्धतापत्र तयार गरी सवै राजनीतिक दलका शीर्ष नेताहरुबाट हस्ताक्षर गराउने आयोगले तयारी गरेको छ ।