चितवन । सत्ता गठबन्धनमा चुनावी तालमेलका सम्बन्धमा सबैभन्दा पेचिलो बनेको चितवनमा भने तालमेल बारे सहमति भएको छ ।
जसका कारण माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड र नेपाली कांग्रेसका सभापति समेत रहेका प्रधानमन्त्री शेरबहादुर देउवालाई राहत मिलेको छ । कांग्रेसभित्र तालमेलका विषयमा आन्तरिक कलहका बीच चितवनले यस्तो निर्णय गरेपछि उनीहरुलाई राहत मिलेको हो । उनीहरु देशभरका स्थानीय तहमा आवश्यकता र मतभारका आधारमा चुनावी तालमेलको पक्षमा छन् ।
सत्तारूढ पाँच दलीय गठबन्धनले चितवनका सातै स्थानीय तहमा तालमेल गरेर अघि बढ्ने निर्णय गरेका छन् । ३० वैशाखमा हुन लागेको स्थानीय तहको निर्वाचनमा चितवनका सातवटै स्थानीय तह र जिल्ला समन्वय समितिमा समेत तालमेल गरे अघि बढ्ने निर्णय गरेका हुन् ।
कांग्रेस जिल्ला कार्यसमिति सभापति राजेश्वर खनालको अध्यक्षतामा बसेको सत्तागठन्धनको जिल्ला स्तरीय संयन्त्रको बैठकले उक्त निर्णय गरेको हो । चुनावी तालमेलका सन्दर्भमा संयुक्त संयन्त्र गठन समेत गठन गर्ने निर्णय गरेको छ । जसको संयोजक कांग्रेसको पालिका सभापतिले गर्ने निर्णय गरेको छ ।
गठबन्धन सहभागी दलहरूकाबीच गठबन्धनको मर्म र भावना अनुरुप एक आपसमा सम्मान र हार्दिकताको विकास गर्दै संयुक्त रुपमा आसन्न स्थानीय तहको निर्वाचनमा सहभागी हुने निर्णय गरेको छ ।
त्यस्तै स्थानीय तह निर्वाचनका लागि केन्द्रीय परिपत्रअनुसार दलगत वस्तुस्थितिको बारेमा प्रतिवेदन तयार गर्न प्रत्येक दलबाट १/१ जना प्रतिनिधि रहने गरी एक कार्यदल गठन गर्ने निर्णय समेत गरेको छ ।
सोमबारको बैठकमा कांग्रेसका जिल्ला सभापति राजेश्वर खनाल, माओवादी केन्द्रका संयोजक रामचन्द्र अधिकारी, नेकपा एकीकृत समाजवादीका इन्चार्ज कृष्णप्रसाद खनाल, जसपा अध्यक्ष प्रेम भुजेल र राष्ट्रिय जनमोर्चाका अध्यक्ष डम्बर पुरीले उक्त निर्णयमा हस्ताक्षर गरेका छन् ।